'फिरोज मियाँको मृत्यु भवितव्यले भएको हो, चिकित्सकको लापरवाहीले होइन'
वीरगन्ज : नेपाल चिकित्सक संघले बिरामीको उपचारमा डाक्टरले लापरवाही गरेको भनेर लगाइएको आरोपको खण्डन गरेको छ ।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरि संघले वीरगन्ज हेल्थ केयरमा कार्यरत डाक्टर आसिफ अन्सारीको पेशागत र व्याक्तिगत चरित्र हत्या हुनेगरी बिरामीका आफन्त र केहि मिडियाले भ्रामक हल्ला फैलाएको प्रति आपत्ति समेत जनाएको छ ।
पर्साको छिपहरमाइ गाउँपालिका- २ चेरगाहाका ३२ वर्षीय फिरोज मियाँको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया वीरगन्ज हेल्थ केयर हस्पिटलमा साउन २६ गते भएको थियो ।
शल्यकृया भइसकेपछि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि उनलाइ काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा उनको आइतबार राति मृत्यु भएको थियो ।
त्यहि विषयलाई लिएर मृतक मियाँका आफन्तहरुले शल्यकृयाका क्रममा डाक्टर अन्सारीले लापरवाही गरेको आरोप लगाउँदै वीरगन्जमा आइतबार प्रदर्शन पनि गरेका थिए ।
तर, सोमबार पत्रकार सम्मेलनमा चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ताले भने मृतकका आफन्तले लगाएको आरोपको खण्डन गर्दै डाक्टर अन्सारीको पेशागत चरित्र हत्या हुने गरि मिडियामा गरिएको झुठो प्रचारबाजीप्रति आपत्ति जनाए ।
डाक्टर गुप्ताले वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा दुरबिन प्रविधिबाट शल्यकृया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउदा पनि मियाँको अत्याधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यकृया गरिएको बताए ।
त्यसपछि आइसीयुमा १२ देखि १४ घण्टासम्म राखेर बिरामीको आफन्तसँग सल्लाह लिएरै रक्तश्राव रोक्न पुन शल्यकृया गर्नु परेको गुप्ताले बताए । दोस्रो पटकको सफल शल्यकृयापछि बिरामी होसमा आएपछि आफन्तले बिरामीलाई पटक पटक भेटेको पनि गुप्ताले बताए ।
आइसीयुमा उपचारका क्रममा बिरामी सेप्सिसमा गई श्वास प्रश्वासमा समस्या देखिएकाले अस्पतालमा उपलब्ध श्रोतसाधनले नभ्याएपछि मात्रै उनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको गुप्ताले बताए ।
डाक्टर अन्सारीले बिरामीलाई निको पार्न अथक प्रयास गर्दागर्दै पनि उपचारका क्रममा भवितव्यवश केहि जटिल समस्या देखिन गएको अवस्थामा बिरामीका आफन्तले मिथ्या आरोप लगाएको अध्यक्ष गुप्ताको भनाइ छ ।
आम नागरिकको स्वास्थ्य उपचारका लागि आफनो व्याक्तिगत जीवन , घरपरिवार त्याग गरी अहोरात्र बिरामीको जीवन रक्षाका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफ्नो पेशागत दायित्व निर्वाह गर्दागर्दै पनि प्रोत्साहित गर्नुको सट्टा चिकित्सकको चरित्र हत्या गर्ने नियतले मिडियामार्फत भ्रामक प्रचारबाजी गरिएकाले यसले सम्पूर्ण चिकित्सकलाई आहत पुगेको संघले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले उपचारका क्रममा भएको भवितब्यलाई डाक्टरको लापरवाहीको संज्ञा दिइ अर्कामाथि दोषारोपण गरि अनुचित लाभ लिने मनसायले गरिएको गतिविधि कदापी सफल नहुने पनि बताए । यदि यस्ता गतिविधि नरोकिए देशभरका चिकित्सकहरु कठोर संघर्षमा उत्रिने चेतावनी पनि अध्ध्यक्ष गुप्ताले दिए ।
आर्थिक लाभका लागि नेताले बार्गेनिङ गरिरहेका छन् : सञ्चालक अन्सारी
यता वीरगन्ज हेल्थ केयर अस्पतालका सञ्चालक डाक्टर अबुल हैयश अन्सारीले पनि मियाको मृत्युको विषयलाई लिएर उनका आफन्त र केहि राजनीतिक दलका नेताले अनुचित लाभ लिन खाजेको आरोप लगाए। उनले वीरगन्ज हेल्थ केयरमा उपचाररत रहँदासम्म मियाको उपचारमा डाक्टर र अस्पताल प्रशासनले कुनै लापरवाही नगरेको दाबी उनको छ। उनले भने,'यदि उपचारमा कुनै पनि किसिमको लापरवाही गरेको पुष्टि हुन्छ भने त्यसको क्षतिपूर्ति र कारबाही भोग्न अस्पताल तयार छ , तर हुँदै नभएको गल्ती देखाउने प्रपञ्च रचिन्छ भने त्यो सह्य हुँदैन ।
मियालाई मेडिसिटी रिफर गरिएकै दिनदेखि मियाका आफन्तलाई उक्साएर केहि दल विशेषका नेताले मिथ्या आरोप लगाएर आर्थिक लाभका लागि आफूसँग पटकपटक बार्गेनिङ गरिरहेको पनि अन्सारीले बताए ।
उनले भने,‘एकजना नेताले १० लाख रुपैयाँ दिनुस् म सबै मिलाइ दिन्छु भनेर मसँग पटकपटक बार्गेनिङ गरिरहेका छन् , 'तर मैले त्यसलाई अस्वीकार गर्दै आएको छु ।
कुनैपनि चिकित्सकले बिरामीको जीवन रक्षाका लागि नै उपचार गर्ने भएकाले डाक्टरकै लापरवाहीले र मियाको स्वास्थ्य अवस्था बिग्रिएको भन्ने आरोप मिथ्या मात्रै भएको अन्सारीले बताए ।
उनका अनुसार , वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत रहँदा मियाँको उपचार , शल्यकृया र औषधिमा गरि १ लाख २८ हजार रुपैयाँ बिल बनेको तर बिरामीका आफन्तले औषधिको २७ हजार र उपचारको ११ हजार गरि ३८ हजार रुपैयाँ मात्र तिरेका छन् ।
अझै पनि ९० हजार रुपैयाँ तिर्नै बाँकी रहँदा पनि अस्पताल प्रशासनले कुनै दबाब नदिएको भन्दै अन्सारीले बिरामीलाई रिफर गरेर हेलिकोप्टरबाट काठमाडौं पठाउँदा समेत अस्पताल प्रशासनले सहजीकरण गरिदिएको बताए ।
यति गर्दा समेत बिरामीका आफन्त र केहि दल विशेष नेताले आर्थिक लाभ लिन अस्पताल र उपचार गर्ने डाक्टरका बारेमा लान्छना लगाएर बदनाम गर्न खोजी रहेको अन्सारीले बताए ।