जाजरकोटमा घरमै सामाजिक सुरक्षा भत्ता
जाजरकोट : जाजरकोटका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन्। नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन्।
वर्षातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौं लाग्ने र सुरक्षा वापतको भत्ता बाटामै सकिने भएकोले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।
उनले भने, 'नगरपालिका भित्रका जेष्ठ नागरिक र अपांङ्गता भएका नागरिकहरूलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं। नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौं लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौं।'
बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने तथा नागरिकले धेरै सास्ती व्यहोर्नुपर्ने भएकाले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भइरहेको गिरीले बताए।
'बैकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयूक्त छ। तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस छ। प्रभावकारी छैन। त्यसैले नजिकैको स्थान बाट भत्ता वितरण गरिएको हो,' प्रमुख प्रशासकीय अधिकृत गिरीले भने।
सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ।
तर जेष्ठ तथा शारीरिक रूपमा अशक्तको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहले बताइन।
जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र बैंक कर्मचारी गाउँमा पुगेर भत्ता वितरण गरेका छन्। अब नलगाड नगरपालिकाका दुई स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाँकी रहेको उपप्रमुख सिंहको भनाइ छ।
यस्तै, जिल्लाको बारेकोट गाउँपालिकाले पनि गाउँगाउँमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए।
'नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं,' उनले भने।
बर्खाको समयमा बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने समस्याहरूलाई मध्यनजर गर्दै गाउँगाउँमा पुगेर भत्ता वितरण गर्दा स्थानीय निकै खुसी भएका छन्।
गाउँमै भत्ता पाउँदा आफूलाई निकै खुसी लागेको बारेकोट गाउँपालिका-२ का धनवीर कामीले बताए।