मेलाको रक्सी र जुवा प्रहरीले नियन्त्रणमा लिएपछि सडकमा चक्काजाम
ढल्केवर (धनुषा) : महोत्तरीमा कृष्ण जन्माष्टमी मेला सञ्चालनमा प्रहरीले अवरोध गरेको भन्दै स्थानीय युवाहरूले सडकमा चक्काजाम गरेका छन्।
बर्दिवास नगरपालिका-२ स्थित न्यू जनजागृति युवा क्लवका युवाहरूले प्रहरीविरुद्ध बर्दिवास-औरही सडकखण्डमा चक्काजाम गरेका हुन्।
उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै बर्दिवास-औरही सडकखण्ड पूर्णरूपमा ठप्प पारेका छन्। मेला सञ्चालनमा प्रहरीले अवरोध खडा गरेपछि त्यसविरुद्ध आफूहरूले सडक बन्द गरेको क्लवका अध्यक्ष दिपु झाले बताए।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर भदौ ३ गतेदेखि १० गतेसम्मका लागि मेला सञ्चालन गरेको उनले सुनाए।
'हामीले त्यो अवधिमा बिहानदेखि राति ९ बजेसम्म मेला संचालन गर्ने प्रशासनबाट अनुमति लिएका थियौं। तर आज बर्दिवास प्रहरीले पूर्व सूचना नै नदिई एक्कासी आएर मेला तितरबित्तर पारिदियो। मेलामा लाखौंको क्षति भएको छ', अध्यक्ष झाले अन्नपूर्णसँग भने 'प्रहरीको गलत कदमविरुद्ध हामी सडकमा उत्रिएका हौं।'
मेलाको क्षतिपूर्ती दिएर प्रहरीले माफी नमागेसम्म आनदोलन जारी राख्ने उनले बताए। इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रवि रावलले मेला सञ्चालनमा कुनै अवरोध नपुर्याएको दावी गरे।
'मेलामा रक्सी बेचेको र जुवा खेलाइरहेको सूचना पाएपछि ती सामानहरूलाई हामीले नियन्त्रणमा लिएका हौं', डिएसपी रावलले भने।