लामखुट्टेले टोक्यो ? डेंगु होला है !
काठमाडौं : लामखुट्टेले तपाईंलाई दिउँसै टोकेको छ ? लामखुट्टे पनि एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको हो कि ? यसो हो भने सतर्क रहनुहोस् ! डेंगु हुन सक्छ।
डेंगुबाट जोगिन दुई प्रजातिको लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। तर, डेंगु संक्रमण भई एक्कासी ज्वरो आएर उपचार गर्न अस्पताल पुग्नेहरू बढ्दै गएको चिकित्सक बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार दैनिक औसत ५० जनाभन्दा बढी व्यक्तिमा डेंगु पुष्टि हुने गरेको बताउँछन्।
‘डेंगुको संक्रमणले काठमाडौं उपत्यकालाई पिरोलिसकेको छ। संक्रमण भएपछि मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको संख्या बढ्दो छ’, डा. पुन भन्छन्, ‘कोही टाउको, मांसपेशी तथा जोर्नी दुखेको सुनाउँछन्। कोही वाकवाकी लाग्ने वा बान्ता हुने गरेको बताउँछन्।’
संक्रमितलाई एडिस एजेप्टी र एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोकेर अर्को व्यक्तिमा भाइरस सारी महामारी निम्त्याउने जोखिम रहेको विज्ञहरू बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार काठमाडौं उपत्यकामा डेंगुले महामारीको रूप लिने सम्भावना उच्च देखिएको छ। ‘घर–घरमा डेंगुका संक्रमित फेला पर्न थालेका छन्’, डा. मरासिनी भन्छन्, ‘संक्रमण फैलिसकेको छ। ढुक्क भई बस्ने अवस्था देखिएको छैन। तर, सरकारी गम्भीरता छैन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार काठमाडौं उपत्यकामा डेंगुको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। ‘काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढ्दो छ। उपत्यका बाहिरबाट संक्रमणको अवस्थाबारे तथ्यांक आइसकेको छैन’, सचिव डा. पोखरेल भन्छन्। काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा बिरामीको उपचार भइरहे पनि यकिन तथ्यांक उपलब्ध भइनसकेको डा. पोखरेलको भनाइ छ।
लामखुट्टेले टोकेको एक साताभित्र यो रोगका लक्षण देखापर्ने चिकित्सक बताउँछन्। डेंगु रोगलाई डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी तीन भागमा बाँड्न सकिन्छ। डेंगु ज्वरोबाट बिरामीको मृत्यु हुँदैन। डेंगु हेमोरेजिक ज्वरो अलि कडा हुन्छ। डेंगु सक सिन्ड्रोम भएको व्यक्तिलाई हेमोरेजिक ज्वरोका साथै बेहोस हुने लक्षण देखिन्छ।
डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ। सफा र स्थिर पानीमा वासस्थान हुन्छ। अन्य लामखुट्टे फोहरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टससवारी साधनका पांग्रा, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ।
‘सवारी साधन मर्मत गर्ने वा त्यत्तिकै छाडिएका टायरमा जमेको पानीमा लामखुट्टेको प्रजनन् हुने गरेको पाइएको छ। टायरको स्थिर पानीमा सबैभन्दा बढी लार्भा पाइन्छन्’, जनस्वास्थ्य विज्ञ डा. मरासिनी भन्छन्, ‘लार्भा नष्ट गर्ने अभियान सुरु गर्दा सबैभन्दा पहिले टायरलाई व्यवस्थापन गर्नुपर्छ।’ घर वा सडकका छेउछाउको खाल्डो, पोखरी, इनार आदिमा जमेको पानी यस प्रजातिको लामखुट्टेको उपयुक्त वासस्थान मानिन्छ।
महामारीको रूप लिने सम्भावना रहेको उनी बताउँछन्। ‘यस्तै अवस्था कायम रहँदा संक्रमितको संख्या बढ्दै भर्ना भएर अस्पतालका शय्या भरिन्छन्’, डा. मरासिनी भन्छन्, ‘त्यसैले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान तुरुन्तै सुरु गर्नुपर्छ। आगामी तीन महिनासम्म डेंगुको जोखिम कायमै रहन्छ।’
स्वास्थ्यसचिव डा. पोखरेल घर/कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न दिन नहुने बताउँछन्। भन्छन्, ‘डेंगु संक्रमण गराउने लामखुट्टेको लार्भा नष्ट गर्न अभियान सुरु गर्दै छौं।’ घर/कार्यालयको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी बेला–बेला फेर्न उनको सुझाव छ। ‘पूरा बाहुला भएको लुगा लगाउने र झुलभित्र सुत्ने गर्दा पनि लामखुट्टेको टोकाईबाट जोगिन सकिन्छ’, उनी भन्छन्।
डेंगुको संक्रमणले काठमाडौं उपत्यकालाई पिरोलिसकेको छ। संक्रमण भएपछि मिल्दोजुल्दो लक्षण लिएर आउने बिरामीको संख्या बढ्दो छ।
डा. शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल