देउडा खेलेर मनाइयो तीज
कालिकोट : कालिकोटमा रमाइलोका लागि देउडा दोहोरी खेलिन्छ। यहाँका हरेक जातजाति र समाजमा देउडाको विशेष महत्व हुन्छ। छोराछोरीको छैटी, ब्रतबन्ध, दिवस, तीजलगायत विभिन्न चाडपर्व, विवाहलगायतका कार्यक्रममा देउडा नखेले यहाँका मानिसलाई रमाइलै हुँदैन। यहाँको मौलिक लोक संस्कृतिका रुपमा चिनिने देउडा साँस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकको पहिलो रोजाइ पनि हो।
मंगलबार तीजका अवसरमा मान्म बजारको प्रतिमा चोकमा यहाँका महिलाहरू देउडामा रमाए। उनीहरू पतिको दीर्घायुका लागि ब्रत बसे पनि देउडामा झुमेका थिए। देउडा पारखी छायाँ सुनार, अविसरा पाण्डे, अमृता न्यौपानेलगायतका महिलाहरूले देउडामा दोहोरी खेलेका थिए। देउडा गाएको हेर्नेको भीड पनि ठूलै थियो। तीजको महत्व, पारिवारिक समस्या, महिलाहरूको कार्यबोझ, महिलाहरूको अवस्थालगायतका विषयमा सवाल जवाफ गरिएको थियो।
देउडा हेरिरहेकी तोविना ऐडीले आफूलाई निकै रमाइलो लागेको बताइन्। ‘महिलाहरूले खेलेको देउडा मनोरञ्जनात्मक थियो। देउडा हेर्दाहेर्दै भोग, प्यास र थकाइ बिर्सिएछु। दिनभर चोकीमा उभिएर देउडा र नाचगान हेरियो’, उनले भनिन्। प्रतिमा चोकमा मात्रै होइन, मान्म बजारका दर्जनौं स्थानमा देउडा र नाचगान थियो। नृत्य चलिरहेका ठाँउमा भन्दा देउडा चलिरहेको स्थानमा मानिसहरूको घुइँचो लागेको थियो।