चौठचन्द्रमा गणेश पूजनोत्सव
भाद्र शुक्लपक्ष चतुर्थीको तिथिको पावन अवसरमा चौठचन्द्र पर्व उमंगसाथ मनाइन्छ। जो चन्द्रमा शीतलता प्रदान गर्ने देवताको रूपमा वेद र उपनिषद्मा वर्णित छन्। भदौको अँध्यारो पक्षमा चन्द्रमा क्षितिजमा उदित भएर केही प्रहरका लागि शीतलता र प्रकाश प्रदान गर्छ। यो चाड सम्पूर्ण तराईमधेसमा मनाउने लामो परम्परा अद्यपि विद्यमान छ जब कि चन्द्रमाको सतहमा मानिसले पाइलो टेकेको पनि धेरै भइसकेको छ। मानिसको आस्था र विश्वासमा केही कमी अझै आएको छैन। चौठचन्द्र प्रसिद्ध एवं प्रिय लोकपर्वको रूपमा आज पनि मनाइन्छ।
व्रतालु महिला एकाबिहानै नुहाइ–धुवाइ र यसको संकल्प गरेर दिनभरि उपवास बस्छन्। दिनभर प्रसादका अनेक परिकार बनाउन परिश्रम उत्तिकै गर्छन्। प्रसादका विभिन्न परिकार बनाउन चाहिने चामल र गहुँ चार दिनदेखि पिँधेर तयार पारिन्छ। यस पूजाका लागि प्रयुक्त हुने कलश तथा प्रसाद राख्ने भाँडो धोएर पूजा गर्ने ठाउँमा प्रसादसहित राखिन्छ। चन्द्रमा चौथीको मुहूर्तमा पश्चिमी क्षितिजमा देखा परेपछि प्रथम व्रतालु महिलाले चन्द्रमाको पूजा गर्छन्। ढोग्ने विधिविधानले सम्पन्न गर्छन्। धार्मिक मान्यताअनुसार साँझ क्षितिजमा चन्द्रमा उदाएपछि हातमा फलफूल र प्रसादका परिकार लिएर पवित्र श्लोक पढ्दै चन्द्रमाको पूजाआजा गर्ने चलन छ। गणेश चतुर्थीको रूपमा यसलाई सम्पूर्ण तराई–मधेसमा बडो धूमधामसित मनाइन्छ। यहाँ बस्ने महिला भाकल पूरा गर्न र मनकामना पूरा गर्न यस पर्वको अनुष्ठान गर्छन्।
परम्परागत रूपमा मनाइने यो पर्वले चन्द्रमा आराधनामा धर्मको निर्वाह र प्रकृतिप्रतिको सदाशयता दुवैलाई पुष्टि गर्छ। प्रकृति पूजाको परम्परा सृष्टिको उषाकालदेखि नै प्रचलित हुनाले आजको पवित्र तिथिमा यसको पूजाआजा गरिन्छ। व्रतालुहरू निराहार बसेर पुरी, पुवा, खीर र मिष्ठान्न तथा विभिन्न मौसमी फलफूल लिन्छन्। साँझपख आँगनमा निश्चित ठाउँलाई शुद्ध र स्वच्छ बनाउँछन्। त्यसमाथि पिठारबाट अरिपन लोकचित्रकला निर्माण गर्छन्। पूजाआजाको सबै परिकार केराको शुद्ध पातमा राखेर चन्द्रोदयको प्रतीक्षा गर्छन्। चन्द्रोदय भएपछि अरिपनमा अष्टदल कमलको साथै कुमुदिनी फूल, नैवेद्य आदि लिएर हात उठाएर चन्द्रमाको शुभदर्शन गरिन्छ। व्रतालुले सर्वप्रथम पूजा एवं प्रसादका परिकार चढाएपछि परिवारका सदस्यहरू पनि हातमा फलफूल र प्रसादका परिकार लिएर चन्द्रमातिर हात उठाएर उनलाई समर्पण गर्छन्। खाली हात यस तिथिमा चन्द्रमाको दर्शन सदियौंदेखि बर्जित गरिएको छ। चन्द्रमाको दर्शन सुखप्रद र शुभप्रद मानिन्छ।
यससम्बन्धी कथा यस्तो छ। चन्द्रमा धेरै सुन्दर देवताको रूपमा रहेको यथार्थ सर्वविदितै छ। उनलाई आफ्नो सौन्दर्यमाथि धेरै घमण्ड थियो। गणेशको भुँडी देख्दा उनको हाँसो फुट्यो। गणेश धेरै कुपित र क्रोधित हुन पुगे र उनलाई श्राप पनि दिए। आजदेखि तिमीलाई तिमीलाई जसले हेर्छ, उसलाई कलंक लाग्नेछ। त्यसपछि चन्द्रमा कुमुदिनी फूलमा गएर लुकिन्। उनले ब्रह्माजीसँग यस अभिशापबाट मुक्ति पाउन उपाय सोधिन्। ब्रह्माजीले गणेशको आस्था र श्रद्धाका साथ पूजाआजा गर्न भने। चन्द्रमाले गणेशको पूजा त्यस्तै विधिले गरेपछि गणेश प्रसन्न भए। उनलाई श्रापमुक्त गरिदिए। गणेशले यो पनि भने जो मानिस यस तिथिमा श्रद्धापूर्वक मेरो पूजाआजा गर्नेछ। त्यसलाई यो कलंक लाग्दैन।
मिथिलाञ्चलसमेत तराई मधेसमा श्रद्धा, भक्ति एवं नियमनिष्ठाका साथ चौरचन यानी चौठचन्द्र पर्व मनाइन्छ। भाद्रशुक्ल चतुर्थीको शुभतिथिमा व्रतालुले उदाउने चन्द्रमाको पूजाआजा गर्छन्। यो लामो प्रथा हो। सम्पूर्ण मिथिलाञ्चलमा यस पर्वमा गाईको गोबरले लिपिएको आँगनमा अरिपनको रंगोली बनाइन्छ। तराई मधेसमा विभिन्न मिष्ठान्न परिकार जस्तो दालपुरी, खीर, खजुरिया, गोदिया, फलफूल मिठाई आदि प्रसादस्वरूप अर्पण गरिन्छ। यसरी व्रत गर्नाले मिथ्या कलंकबाट मुक्ति र सुख, शान्ति, समृद्धि फलको प्राप्ति हुन्छ भन्ने लोकविश्वास छ। बिघ्नहर्ता गणेशको पूजाआजा अद्यापि पनि प्रचलित छ। संस्कृत भाषामा यस्तो श्लोकको पाठ नियमित रूपमा गर्ने गरिन्छ। जसबाट परिवारमा सुखसमृद्धिको साम्राज्य पनि स्थापित हुन्छ–
‘मंगलम् भगवान् विष्णु मंगलम् गरुढध्वज
मंगलम् पुण्डरीकाक्ष मंगलायतनो हरि।’
काठमाडौं उपत्यकामा पनि नेवार समुदायले यस पर्वमा चन्द्रमाको पूजाआजा गर्ने परम्परा छ। पारिवारिक यो पर्वमा शिवपुत्र गणेशको श्रद्धापूर्वक आराधना गरिन्छ। संस्कृतिविद् जिम गुडम्यानले आफ्नो पुस्तक ‘गाइड टु इन्ज्वोए नेप्लिज फेस्टिभल्स’मा चन्द्रमालाई मुन गडेस भनेका छन्। तर पनि यस रात नेवार समुदाय आफ्नो कोठामा बन्द हुन्छन्। चन्द्रमाको दर्शनबाट वञ्चित हुन्छन्।
गणेश मन्दिरमा भक्तजन लामबद्ध भएर गणेशको पूजाआजा गर्छन्। बिहान पूजा गरेपछि आआफ्नो घरमा बस्छन्। चोरहरू चाहिँ चोरी गर्न बाहिर निस्किन्छन्। तसर्थ चोरहरूका लागि यो सुवर्ण अवसर हुन्छ। मैथिलीमा एउटा भनाइ छ– चौरही चाँदनी रात न भावा अर्थात् चोरलाई जुनेली रात मन पर्दैन। तराई–मधेसमा लोकभाषामा यस पर्वलाई ‘ढेला चौथ’ भनिन्छ। यो व्रत गर्नाले झुटो कलंकको दोषको निवारण हुन्छ। यहाँ पनि माटोको डल्लो घर–घरबाट फ्याँकिन्छ। अरू केही नभए पनि वारिबाट काँक्रो चोर्ने गरिन्छ। गणेश, विष्णु, शंकर, सूर्य र भगवती देवीलाई पञ्चदेवता भन्ने गरिन्छ।