झिमरुकमा ग्रामीण सडक अवरुद्ध; बाटोमा बग्यो खोला
बुटवल : प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ स्थित न्वाउरेखोला–बांगे–बौडा हुँदै अर्घाखाँची पुग्ने सडक गए रातीको वर्षातले अवरुद्ध भएको छ। प्यूठान हुँदै अर्घाखाँचीको गोखुंगा पुग्ने उक्त सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती पाएका छन्।
न्वाउरेखोलामा पुल नहुँदा बाटोमा खोलो हिंडेको छ। बौडाका स्थानीय ज्ञानबहादुर केसीका नालीबीना सडक निर्माण गर्दा ठाउँ ठाउँमा सडकमै खाल्डा परेका छन्। मोटरसाइकल समेत गुडाउन नमिल्ने गरी बाटो बिग्रिएको छ।
बाटो अवरुद्ध भएपछि तिजमा आएका चेलीबेटीहरुले सास्ती पाएका केसीले बताए। अर्घाखाँचीको गोखुंगा र बौडाबाट प्यूठानको प्रमुख व्यापारिक केन्द्र बाग्दुला, विजुवारका लागि नियमित जिप सञ्चालन छन्। अवरुद्ध सडक सूचारु गर्नका लागि स्थानीयले गाउँपालिकासँग आग्रह गरेका छन्।