नैतिकताभित्रको सचेतता

असल चरित्र मानवको विशिष्ट गुण हो भने नैतिकता सर्वश्रेष्ठ गुण। नैतिकताले व्यक्तिको चरित्रलाई चित्रण गर्र्दै सकारात्मक चिन्तन र अनुशासनको मार्गमा डोहोर्याउँछ। नैतिकताको कुनै सीमा हुँदैन। तर, यसका गुणहरूका आधारमा महसुस र अनुभूतिहरूमा मापन गर्न भने नसकिने होइन। महसुस र प्रभावले सिर्जना गरेका सकारात्मक वा नकारात्मक नतिजाहरूमा खोज्न सकिन्छ। नैतिकताले नै मानिसमा राष्ट्रभक्तिको भावना पैदा गराउँछ। शैक्षिक डिग्री र धनसम्पत्ति हुँदैमा मानिस नैतिकवान हुन्छ भन्ने होइन।
नैतिकतामा जोडिएको महŒवपूर्ण विषय हो, मानिसले आफूलाई बिर्सनु हुँदैन। आफूले आफैंलाई पनि हेर्नुपर्छ। अरूतिर मात्र औंला ठड्याउनु, अरूलाई मात्र दोषी देखिरहनु, आत्मसमीक्षा गर्न नसक्नु आदि नैतिक चरित्रवान् व्यक्तिको विशेषता होइन। आफू पनि कति इमानदारी, सदाचारी र जिम्मेवारी छु ? भुल्नु हुँदैन। आफूभित्र के कति देशभक्ति, अनुशासन र परोपकारी भावनाहरू छन् आफूले आफैंलाई जाँच्न सक्नुपर्छ। नैतिक तथा चरित्रवान्ले मात्र सर्वत्र नैतिकताको खबरदारी गर्ने हैसियत राख्छ। मानिसलाई सदाचार र नैतिकताले नै सबल र सफल बनाउँछ। सदाचारको सिद्धान्तले चरित्र निर्माण गर्छ भने चरित्रले नैतिकता।
गुणमा आधारित नैतिक प्रणालीमा सद्चरित्रले महŒवपूर्ण स्थान लिएको हुन्छ। एक व्यक्तिको गुण अर्को व्यक्तिका लागि सहयोगी सिद्ध हुँदै कुनै एक परिस्थितिमा पुगेर नतिजा देखाउन सक्छ। आनन्द र गुणले सधंै एकआपसमा संगत गर्छ। मानिस नैतिकवान् बन्न नैतिकताका आधारभूत सिद्धान्तहरू बुझ्न जरुरी हुन्छ। गुणका सिद्धान्तहरूको नैतिक सिद्धान्तहरूसँग तुलना हुँदैन। व्यक्तिको चरित्र र समग्र व्यक्तित्व उसले प्राप्त गरेको शिक्षा तथा पारिवारिक वातावरण एवं सामाजिक संस्कारहरूले निर्दिष्ट गर्छ।
समाजमा इज्जत, प्रतिष्ठाको आधार नैतिकता र इमान्दारिताभन्दा पनि व्यक्तिले आर्जन गरेको आर्थिक सम्पन्नता, पहुँच वा शक्तिजस्ता कुरालाई आधार मानिने गरेको छ। एउटा व्यक्ति आर्थिक सम्पन्न वा राजनीतिक तथा प्रशासनिक उच्च ओहोदामा हुँदैमा असल ठान्नु गलत हुन सक्छ। भ्रष्ट र चरित्रहीन व्यक्तिले पनि आर्थिक सम्पन्नता, पहुँच तथा शक्ति प्रदर्शन गर्न सक्छ। शक्ति र दम्भले समाजलाई आफ्नो प्रभावमा राख्न सक्छ। समाजमा असल र खराब, सज्जन र दुर्जन प्रवृत्तिका बीचमा कुनै फरक नछुट्टिने अवस्था रहँदा दण्डहीनताको संस्कारले प्रशय पाउँछ।
मानिस विवेक र चेतनाले गर्दा नै सृष्टिमा रहेका प्राणीमध्ये सर्वश्रेष्ठ प्राणी भएको हो। मानवता, नैतिकता, इमान्दारिता, ज्ञान, विवेक आदि मानिसमा हुनुपर्ने अत्यावश्यक गुणहरू हुन्। यी गुणका अभावमा मानिस र अन्य प्राणीबीच तात्विक भिन्नता रहँदैन। व्यक्तिले प्राप्त गरेको शिक्षा वा किताबी ज्ञानले मात्र उसको उत्कृष्टता पुष्टि गर्दैन। न त उसको चलाखीपना र चतुर्यताले असल छ भन्ने कुराको निश्चितता प्रदान गर्छ। आर्जन गरेको ज्ञान र विवेकसँगै सामाजिक, व्यावहारिक र मानवीय गुणले जति युक्त हुन्छ, त्यतिनै असल व्यक्ति ठहरिन्छ। मानव अधिकार, सामाजिक न्याय र प्राकृतिक रूपबाट समेत सबै मानिस जन्मकै आधारमा समान छन्। असमान छन् त ऊभित्रको स्वार्थ, सोच, चरित्र एवं नैतिकता। असल चरित्र र नैतिकता बिनाको मानिस पनि ठूलो कहलिन त सक्छ। समाजलाई भने सकारात्मकभन्दा नकारात्मक कुराहरू नै बढी दिने गरेको इतिहासले देखाएको छ।
एक व्यक्तिले अर्को व्यक्तिमाथि लगाउने दृष्टिदोषले कलह निम्त्याउँछ। पारस्परिक सम्मान, सद्भाव, सहयोगजस्ता मानवीय आदर्श सामाजिक जीवनशैलीका अभिन्न आयाम हुन्। व्यक्तिको सामाजिक पहिचान वा प्रतिष्ठा ओहोदाले होइन, उसमा निहित गुणका आधारमा सामाजिक सम्मान कायम हुन आवश्यक छ। समाजमा अहिले मानवता, नैतिकता, इमान्दारिताजस्ता असल मानिसमा हुनुपर्ने गुणहरूमा क्षयीकरण हुँदै गइरहेको छ। पहिले विद्यालयका पाठ्यक्रममा अनिवार्य विषयको रूपमा रहेको नैतिक शिक्षा आज विधिका रूपमा मात्र राखिएका छन्। आधुनिकतासँगै नैतिकताका मूल्य मान्यताहरू स्वार्थमा आधारित बन्न थालेका छन्भन्दा अत्युक्ति नहोला।
अनुशासन र सकारात्मक चिन्तन तथा सोचले मानिसको चरित्र विकास हुन्छ। जबसम्म मानिसले मानवीय मूल्यमान्यतामा आफ्नो कर्तव्य र दायित्व बुझ्दैन, उसले समाज बुझ्न सक्दैन। समाज नबुझ्नेले सामूहिक जीवन पद्धति र सामाजिक विविधताबारे बुझ्ने कुरै भएन। मानिसको व्यवहारले उसको चरित्र अध्ययन गर्छ। आजको बानी, व्यवहार र शिक्षाले भोलिको चारित्रिक गुण निर्धारण गर्छ। राष्ट्र, राष्ट्रिय एकता र सामाजिक संस्कारका भावनाहरूले समर्पणको भाव पैदा गर्छ। नैतिकता अनुशासन र स्वालम्बन सिर्जनशीलताजस्ता चारित्रिक गुण तथा आधारभूत सीपहरूले जीवनलाई सार्थक बनाउँछ।
जिम्मेवारीपूर्ण आचारणले समावेशी समाजको निर्माणमा सहयोग पुर्याउँछ। असल व्यक्तिले मात्र घरपरिवार तथा समाजमा माया, सद्भाव, सहयोग, पारस्परिक सम्मान, मेलमिलापजस्ता मानवीय संस्कार कायम राख्न सक्छ। सभ्य, कल्याणकारी समाज निर्माणका लागि तथाकथित ठूलो होइन, असल, इमान्दार र चेतनशील व्यक्तिको खाँचो छ। समाजमा ठूलो होइन, असल मानिस हुने वा बन्ने संस्कारको विकास हुनु आजको आवश्यकता हो। आजका बालबालिका नै भविष्यका कर्णधार हुन्। उनीहरूलाई सानैदेखि ठूलोभन्दा असल बन्ने शिक्षा वा प्रेरणा दियौं भने भविष्यमा असल बन्ने र समाज पनि सभ्य हुने अपेक्षा गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
