सुस्ताए पुराना बजार

फिदिम : फिदिम नगरपालिका–४ मा पर्ने जोरसाल पाँचथरको सबैभन्दा पुरानो बजार हो। २०२५ सालदेखि जिल्लाको व्यापारिक केन्द्रका रूपमा विकसित भएको यो बजारमा दशक अघिसम्म थोक बिक्री केन्द्रसमेत थियो। तर, अहिले यो बजार सुनसान छ। यहाँ व्यापारिक गतिविधि शून्य छ।
सदरमुकाम फिदिम बजारमा पनि व्यापारिक गतिविधि सुस्त छ। केही वर्षयता व्यापारमा मन्दी आएको यहाँका व्यापारी बताउँछन्। नयाँ सहर आयोजनाले फिदिम बजारलाई व्यवस्थित गर्दै गज्जबको केन्द्र बन(ाउने लक्ष्य राखेर काम थालेपछि यहाँको व्यापारिक गतिविधि ओरालो लागेको छ।
पहाडको जनसंख्या क्रमिक रूपमा घट्नुका साथै ग्रामीण क्षेत्रसम्म सडक विस्तार भएपछि पुराना बजारहरू सुस्ताएका हुन्। संघीयता कार्यान्वयन भएसँगै व्यापारिक गतिविधि विकेन्द्रित भएको छ। जसको असर पुराना बजारहरूमा परेको हो।
‘फिदिमको व्यापारै सुकेको छ,’ कपडा व्यापारी जीवन तुम्बापो भन्छन् ‘गाउँसम्म सडक पुगेपछि बजार सुस्ताएको हो।’ गाउँका ग्राहक व्यापारिक कारोबारका लागि यहाँ आउन छाडेकाले बजार सुस्ताएको हो।
सडकको सुविधा पुगेपछि ग्रामीण क्षेत्रका व्यापारीले सीधै झापाको बिर्तामोडदेखि कारोबार गर्न थालेका छन्। बिर्तामोडबाट गाडीमा लोड गरेको सामान सोझै गाउँमा झर्छ। यसले सदरमुकामसहितका पुराना बजार सुस्ताएका हुन्।
फिदिम र जोरसालजस्तै हिलिहाङ गाउँपालिकामा अवस्थित जोरपोखरी बजार र याङवरक गाउँपालिकाको थर्पु बजारमा पनि व्यापारिक गतिविधि सुस्ताएको छ। ग्रामीण क्षेत्रसम्म सडकको विस्तार नभएसम्म व्यापारिक गतिविधिका लागि यी बजार निकै चर्चामा थिए। तर, अहिले यी बजार पनि सुनसान भएको थर्पुका व्यापारी प्रकाश न्यौपानेले बताए।
पाँचथरका नागी, ओयाम, फलैँचा, च्याङथापु र ताप्लेजुङका दर्जनभन्दा बढी गाविसको केन्द्रबिन्दुको रूपमा रहेको थर्पु बजारको गतिविधि ती क्षेत्रमा सडक पुगेपछि सुस्ताएको हो। ग्रामीण क्षेत्रका मानिसलाई सडकले सदरमुकाम र बिर्तामोडसँग नाता गाँसिदिएपछि जिल्लाका पुराना बजारको व्यापारिक कारोबार शून्य प्रायः बनेको थर्पुका स्थानीय ताराहाङ तावाले बताए। ‘यो बजार करिब १० गाविसको केन्द्रबिन्दु थियो’, तावाले भने, ‘अहिले सुनसान छ।’
विगतमा सिदिन, याङनाम, मेमेङ, एकतीन, प्राङबुङ, सुभाङ, पञ्चमीलगायतका ग्राहकबाट उर्लेको जोरपोखरी बजार पनि ती क्षेत्रमा सडक पुगेसँगै सुस्ताएको छ। सडक विस्तारले जिल्लाका ग्रामीण क्षेत्रमा कतै नयाँ बजार विस्तार गरेको छ। केही पुराना बजारहरूलाई विस्थापित हुने स्थितिमा पुर्याएको छ। मेची राजमार्गको कारण मौलाएका पुराना बजारहरू ग्रामीण सडकको विकाससँगै सुस्ताएका हुन्।
पहाडको जनसंख्या घट्दै गएकाले पनि यहाँका बजारमा व्यापारिक गतिविधि सुस्ताएको हो। ‘यहाँ हुनेखानेले तराईमा लगानी गरेका छन्,’ पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले भने, ‘जनसंख्या पनि क्रमिक रूपमा घट्दै जानु र पहाडका बजारमा ठूलो लगानी पनि नभएकाले बजार सुस्ताएका हुन्।’
प्रतिक्रिया दिनुहोस !
