सेवा बढेसँगै गोरखा अस्पतालमा बिरामी संख्या दोब्बर

सेवा बढेसँगै गोरखा अस्पतालमा बिरामी संख्या दोब्बर

गोरखा : सेवामा स्तरोन्नति गर्न थालेपछि गोरखा अस्पतालमा सेवा लिने बिरामीको संख्या ६ महिनामै दोब्बर भएको छ। 

गत फागुनसम्म ओपीडी सेवा लिन आउने बिरामी संख्या मुस्किलले १२० जनासम्म हुने गरेको यहाँ अहिले दैनिक अढाइदेखि तीन सयसम्म हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

'आइतबार त यहाँको ओपीडीमा तीनसय जनाभन्दा धेरै बिरामी आएका हुन्छन्', उनले भने, 'अरू दिनमा पनि सँधै अढाइ सयभन्दा धेरै नै हुन्छन्। बिरामीको संख्या बढेपछि अस्पतालको आम्दानी पनि दोब्बर वृद्धि भएको छ।'

नयाँ भवनबाट अस्पतालले विभिन्न सेवा थप गरेपछि बिरामीहरू अस्पतालमा आएका उनको भनाइ छ। अस्पतालमा केही दिनयता हेमोडाइलासिस सेवा सुरु भएको छ। 

थाइराइड परीक्षण सुरु भएको छ भने विशेषज्ञबाट हाडजोर्नी तथा नशा रोगको परीक्षण तथा उपचार सेवा सुरु भएको छ।

रक्तसञ्चार (ब्लड बैंक) सेवा सुरु भएपछि अस्पतालमा शल्यक्रिया सेवा लिन आउनेहरू पनि बढेको अस्पतालले जनाएको छ।

अहिले गोरखा अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकले नियमित सेवा दिन थालेका छन्। एक वर्षअघिसम्म तीन जनासम्म विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएकोमा अहिले विशेषज्ञ चिकित्सकको सबै दरबन्दी पूर्ण छ।

'अहिले गोरखा अस्पतालमा स्त्री तथा प्रसूति रोगका तीनजना विशेषज्ञ हुनुहुन्छ, जनरल सर्जन दुईजना हुनुहुन्छ', ढकालले भने, 'एकजना जनरल फिजिसियन, बालरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, एमडीजीपी एकजना र एकजना हाडजोर्नी तथा नशारोग विशेषज्ञले अस्पतालमा सेवा दिइरहनु भएको छ।' 

धेरै समस्याको परीक्षण र उपचार सेवा हुन थालेपछि गोरखा अस्पतालमा बिरामी आउने क्रम बढेको छ।  

अस्पतालमा गत हप्ताबाट हेमोडायलासिस सेवा सुरु भएको छ। मिर्गौला रोगबाट पीडित बिरामीका लागि हेमोडायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए। 

पहिलो पटक मिर्गौलाको डायलासिस अन्य अस्पतालमा गराएका र निरन्तर सेवा लिनुपर्नेहरूका लागि यहाँ नै निःशुल्क हेमोडायलासिस सेवा सुरु भएको ढकालले बताए। 

अस्पतालमा अहिले एकजना मेडिकल ल्याब टेक्नोलोजिस्ट र ल्याब तीन जना टेक्निसियन थपिएका छन्। यसअघि तीनजना प्राविधिकले काम चलाएकोमा अहिले आठ जना प्राविधिक खटिन्छन्।

'थाइराइड परीक्षण सेवा अस्पतालका लागि वरदान हो, किनभने अहिलेसम्म सबैभन्दा धेरै बिरामी थाइराइड परीक्षण गर्नकै लागि बाहिर जिल्ला रिफर गर्ने गरिएको थियो', सूचना अधिकारी ढकाल भन्छन्, 'धेरै खाले समस्या भएका बिरामीको थाइराइड परीक्षण गर्नुपर्ने हुन्छ। अब त्यस्ता सबै बिरामीले यहीँ सेवा पाउँछन्।' 

अहिले तत्कालका लागि अस्पतालले हप्तामा मंगलबार र शुक्रबार गरी दुई दिन मात्र थाइराइड परीक्षण गर्ने गरेको छ। 

अघिल्लो दिनमा परीक्षणका लागि लिइएको थाइराइडको रिपोर्ट भोलिपल्ट मात्र उपलब्ध गराइने गरिएको उनले बताए। थाइराइड परीक्षणको शुल्क नौ सय रुपैयाँ निर्धारण गरिएको छ। 

साथै अस्पतालले एउटै समयमा दुईजना बिरामी तथा घाइतेको शल्यक्रिया गर्न सक्ने सूचना अधिकारी ढकालले बताए। अस्पतालमा दुईजना जनरल सर्जन र एनेस्थेसियोलोजिस्ट जनशक्ति उपलब्ध भएकाले एकैसाथ दुईजनाको शल्यक्रिया गर्न सम्भव भएको हो। 

'यसअघि एकजनाको शल्यक्रिया भइरहेको अवस्थामा शल्यक्रिया गर्नुपर्ने अर्को बिरामी आएमा रिफर गर्नुपर्ने अवस्था थियो। अब त्यो अवस्था छैन' ढकालले भने, 'अब एकै समयमा दुईजनाको शल्यक्रिया पनि हुनसक्ने अवस्था भएको छ।'  

अस्पताल आसपासमा रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्र स्थापना गरेपछि शल्यक्रियाका लागि पनि धेरै टेवा पुगेको अस्पतालले जनाएको छ। 

यसअघि रगतको कुनै निश्चित नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी तथा सुत्केरीलाई बाहिर जिल्ला पठाउनु पर्ने बाध्यता थियो। 

'कि बाहिर जिल्ला पठाउनु पर्थ्यो, कि रगत दिने मान्छे स्ट्याण्डबाइ गरेर मात्र शल्यक्रिया थाल्नुपर्ने अवस्था थियो', ढकालले भने, 'तर अब रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अपरेशन गर्न धेरै अनुकूल भएको छ।'

गोरखा अस्पतालमा रहेको शव गृहमा मर्चुरी च्याम्बर पनि सञ्चालनको तयारी गरिएको अस्पताले जनाएको छ। 

'शवलाई लामो समयसम्म चिस्यान गराई राख्नका लागि मर्चुरी च्याम्बर पनि अबको एकदुई दिनमै सञ्चालन गर्दैछौँ', सूचना अधिकारी ढकालले भने, 'स्रोत साधन तयार छ। अस्पताल सञ्चालक समितिले अब कसरी सञ्चालन गर्ने भनेर मोडालिटी बनाउँदै छ। एकदुईदिनभित्रै यो पनि सञ्चालन हुनेछ।'

यसअघि एक बजेसम्म मात्र टिकट काट्ने बिरामी आउने गरेकामा अहिले तीन बजेसम्म टिकट काट्न आउने गर्छन्। आवश्यकता हेरेर अस्पतालले विशेषज्ञ चिकित्सकका साथमा पेइङ क्लिनिक पनि सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.