गाउँमै शाखारहित बैंकिङ सेवा

गाउँमै शाखारहित बैंकिङ सेवा

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकाले बैंकिङ सेवा नपुगेका विकट बस्तीहरूमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। 

बाल पोषण, ज्येष्ठ नागरिकले पाउने वृद्धभत्ता, एकल भत्ताजस्ता सामाजिक सुरक्षा भत्ता वितरण गर्ने लगायतका आर्थिक कारोबारहरूलाई सहज बनाउन नगरपालिकाले इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा गाउँमै शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो। 
  

बैंकिङ सेवा लिनका लागि नगरपालिकाको केन्द्र गाल्जे जाँदा सेवाग्राहीका चापका कारण लाइन बस्नुपर्ने, घण्टौँ पैदल बाटो हिँड्नुपर्ने, कहिलेकाहीँ नेटमा खराबी हुँदा काम नहुने, सामान्य कागजपत्र छुट्दा काम नभएर घर फर्किनुपर्नेजस्ता समस्याहरू खेप्दै आएका तिलागुफा नगरपालिका वडा नं. ९, १० र ११ वडाका लागि पायक पर्ने चिल्खाया ठिन्के बजारमा सेवा सुरु भएपछि यहाँका नागरिकहरूलाई सहज भएको छ। 

तिलागुफा नगरपालिका-९ चिल्खायाका स्थानीय लालसिंह खत्रीले भने, 'अब त ढुक्क भयो। गाउँमै बैंकिङ सेवा सेवा पाउने भयौँ। पहिले सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे जानु पर्थ्यो। धेरै झन्झट पनि खेपिरहेका थियौँ।'

उनले नगरपालिकाले पहल गरेर गाउँमै बैंकिङ सेवा विस्तार गरेर नागरिकलाई सेवा लिन निकै सहज बनाएको बताए। 
 
नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बैंकिङ सेवामा नगरवासीको सहज पहुँच पुर्‍याउन शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको बताए। 

उनले भने, 'यो नगरपालिका बन्न आवश्यक आधारभूत पूर्वाधार विकास नगरी बनाएको नगर हो। यहाँका नागरिकहरूलाई नगरपालिका केन्द्रमा बैंकिङ सेवा सेवा लिन आउन पनि सहज छैन। जोखिमयुक्त पैदल बाटो, सेवाग्राहीको चाप लगायतका धेरै समस्या थियो।'

त्यसलाई कम गर्न नगरपालिकाका वडा नं. १, २, ३ र ४ लाई पायक पर्ने गरी नाग्ममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा सेवा लिने, ५, ६, ७ र ८ लाई नगरपालिका केन्द्रमा रहेको बैंकको शाखाबाट सेवा लिने र ९, १० र ११ लाई ठिन्के बजारमा स्थापना गरिएको शाखारहित बैंकिङ सेवाबाट सेवा लिने गरी व्यवस्था मिलाएको उनले बताए। यसो गर्दा नगरवासी सबैले सहज तरिकाले बैंकिङ सेवा पाउने भएका छन्। 
 
जिल्लाका सबै पालिकाहरूमा बैंकिङ सेवा छैन। जिल्लाका नौवटै पालिकाका केन्द्रहरूमा बैंकहरूले शाखा विस्तार गरेका छन्। 

तर, त्यहाँ भौतिक पूर्वाधार तथा इन्टरनेट सेवा प्रभावकारी नहुँदा बैंकिङ सेवा प्रवाहमा पनि समस्या छ। पालिकामा शाखाबाट जारी भएको चेक साट्न सदरमुकाम जानुपर्छ। 

पचालझरना गाउँपालिका-८ का स्थानीय प्रजापति संज्यालले भने, 'प्रायः गाउँमा एक लाखभन्दा बढीका चेक साटिँदैन। असार मसान्तका बेलामा त गाउँका बैंकहरूले ३० हजारभन्दा बढी पैसा दिँदैनन्। ठूलो चेक साट्न परे सदरमुकाम नै धाउनुपर्छ। गाउँमा स्थापना भएका बैंक शाखाहरूमा ठूलो आर्थिक कारोबार गर्न समस्या छ।'  



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.