पहाडी क्षेत्रमा बढी संक्रमित

पहाडी क्षेत्रमा बढी संक्रमित

प्रदेश १ का तराईमा मात्रै नभई पहाडी जिल्लामा पनि डेंगुको संक्रमण बढ्दै गइरहेको छ। तराईका जिल्लाको तुलनामा पहाडमा संक्रमित धेरै भेटिएको जिल्लाका तथ्यांकले पुष्टि गर्छ। प्रदेशका १४ वटै जिल्लामा संक्रमित भेटिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पहिलोपटक २०७८ माघ ८ गते मोरङमा दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो। त्यसयता डेंगुबाट संक्रमित हुनेको संख्या २ सय २१ पुगेको प्रदेशका स्वास्थ्य सचिव डा. अनुज भट्टचनले जानकारी दिए।

सचिव भट्टचनका अनुसार पहाडी जिल्ला तेह्रथुममा सबैभन्दा धेरै ८८ जनामा संक्रमण पुष्टि भएको छ। जनघनत्व धेरै भएको म्याङलुङ र फेदापमा डेंगुका बिरामी बढी छन्। तेह्रथुमपछि संखुवासभामा ५७, भोजपुरमा १५, झापामा १२, मोरङमा ११, ओखलढुंगामा १०, सुनसरी र खोटाङमा ६÷६, इलाममा ५, धनकुटामा ४, उदयपुरमा ३, सोलुखुम्बुमा २ तथा ताप्लेजुङ र पाँचथरमा १÷१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। ‘तराईको तुलनामा पहाडमा डेंगुका बिरामी बढी भेटिनु सामान्य विषय होइन। यसअघि तराईमा डेंगुका बिरामी धेरै भेटिने गरेका थिए,’ उनले भने। पहाडमा पनि तापक्रम बढ्दै जानुले डेंगु सार्ने मच्छरका लागि अनुकूल वातावरण बन्दा संक्रमित धेरै भेटिन थालेको हुनसक्ने उनको अनुमान छ। 

प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवले डेंगुको संक्रमण बढेसँगै बिरामीको उपचारलाई प्रभावकारी बनाउन जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको बताए। कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले डेंगु सार्ने मच्छर दिनको समयमा बढी सक्रिय हुने बताए। डेंगु लागेका बिरामीलाई १ सय ४ डिग्रिसम्म ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, टाउको, आँखा, पेट तथा शरीर दुख्ने, झाडापखाला हुने, रक्तचाप कम हुँदै जाने र प्लेटलेट काउन्ट घट्दै जानेलगायतका लक्षण देखिने यादवको भनाइ छ। अस्पतालका वरिष्ठ फिजिसियनसमेत रहेका उनले प्लेटलेट काउन्ट घट्दै जाँदा शरीरका विभिन्न भागबाट रगत बग्न सक्नेसमेत बताए।

बागमतीमा बिरामीको चाप

बागमती प्रदेशका अस्पतालहरूमा डेंगु संक्रमितको चाप बढेको छ। प्रदेशका १३ जिल्लामध्ये रसुवा मात्रै डेंगुको संक्रमण फेला परेको छैन। बागमतीको सबैभन्दा बढी ललितपुरमा संक्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार संक्रमित संख्याको आधारमा काठमाडौं दोस्रो र मकवानपुर तेस्रो जिल्ला हो। 

बुधबार साँझसम्म मकवानपुरमा मात्रै डेंगुको सक्रिय संक्रमित संख्या ७ सय ५६ पुगेको थियो। मकवानपुरमा दैनिक ६० जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांश बालबालिका छन्। संक्रमणका कारण अस्पताल भर्ना हुनेमा बालबालिका र वृद्धवृद्धाको संख्या धेरै भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले बताए। ‘झन्डै डेढदेखि दुई सयको संख्यामा परीक्षण गर्दा १६ देखि २० जनामा डेंगु पुष्टि भइरहेको छ’, उनले भने। 

निकै जटिल अवस्थाका बिरामीहरूलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र चितवनको भरतपुर सरकारी अस्पतालमा रिफर गरिँदै आएको छ। हेटौंडा अस्पतालमा डेंगु परीक्षणको लागि किट पर्याप्त छैन। ‘दैनिक २ सय किट खपत भइरहेको छ। तर, यो पर्याप्त भने छैन’, चौलागाईंले भने।

गण्डकीको ११ जिल्लामा संक्रमित

साउनयता पोखराको मणिपाल शिक्षण अस्पतालमा डेंगुका ४ जना बिरामी आए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेंगुका त्यति नै बिरामी पुगे। डेंगु लागेर पनि अस्पताल नजाने धेरै छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खिम खड्काले गण्डकी प्रदेशभरका ११ जिल्लामा डेंगुका सय बिरामी अस्पतालमा आएको बताए। उनका अनुसार सबैभन्दा धेरै लमजुङमा १५ जना बिरामी फेला परेका छन्। 

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मी कोभिड र डेंगुलगायत संक्रामक रोग नियन्त्रणका लागि यो आर्थिक वर्षमा महानगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए। केही समयअघि पोखरा १७ छोरेपाटनमा डेंगुका २ बिरामी फेला परेपछि त्यो क्षेत्रमा लामखुट्टेका बासस्थान खोज्दै लार्भा नष्ट गरिएको उनले सुनाए।

डेंगुलगायत किटजन्य रोग नियन्त्रणका लागि पोखरा महानगरपालिकालाई यो वर्ष संघीय सरकारले ५ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको रेग्मीले बताए। तर, महानगरकै ३५ लाख र यो पैसा खर्च गरी डेंगु सचेतना तथा लामखुट्टेको बासस्थान एवं लार्भा नष्टको कार्यक्रम पोखरामा सुरु भइसकेको छैन।

लुम्बिनीमा दैनिक थपिँदै संक्रमित

लुम्बिनीमा डेंगुका संक्रमित दैनिक थपिँदैछन्। तर, यो रोग नियन्त्रणका लागि कुनै अभियान सञ्चालन गरिएको छैन। लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी अस्पतालमा गरी करिब एक सय हाराहारीको संख्यामा बिरामी उपचाररत छन्। डेंगुले सताएर घरमै आराम गरिरहेकाहरूको संख्या पनि उत्तिकै छ।

बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले लार्भा खोज र नष्ट गर अभियान विद्यालय केन्द्रित गरेको दाबी गरे पनि उक्त कार्यक्रम विद्यालयमा पुगेको छैन्। विद्यालय केन्द्रित भनिएको कार्यक्रमबारे उनले स्पष्ट जानकारी दिन सकेनन्। ‘यसबारेमा डिटेल बुझ्न युवराज पाण्डेजीलाई सोँध्नुस् न’, उनले भने, ‘म अहिले कार्यक्रममा छुँ। भोलि कुरा गरौँला है।’ उनी नगरवासीको स्वास्थ्यबारे संवेदनशील भएनन्।

जनस्वास्थ्य शाखाका युवराज पाण्डेले पनि डेंगु रोग नियन्त्रणका बारेमा उपमहानगरपालिका क्षेत्रमा गरिएका कामका बारेमा यथेष्ट विवरण बताउन सकेनन्। उनले प्रेस सल्लाहकार सिपी खनाललाई यसबारेमा बुझ्नु भन्दै तर्किए। खनाल र पाण्डेको गैरजिम्मेवार प्रतिक्रियाले पनि सहजै अनुमान लगाउन सकिन्छ यहाँ डेंगु रोग नियन्त्रणसम्बन्धी ठोस काम भएको छैन।

बुटवल उपमहानगरपालिका–१९ मा रहेको नहरपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धनीश्वर गौतमले डेंगु रोग नियन्त्रणसम्बन्धी उपमहानगरले हालसम्म कुनै कार्यक्रम विद्यालयमा नल्याएको प्रतिक्रिया दिए। विद्यालयमा कुल १ हजार ३ सय ५० जना विद्यार्थी छन्। विपद् व्यवस्थापन र स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा करोडौं बजेट विनियोजन गर्ने उपमहानगरले विपद्को बेला ठोस कार्यक्रम नगरेको नागरिकहरूले गुनासो गरेका छन्। 

बुटवल–१३ बेलवास झोलुंगेपुलस्थित हरियाली पथमा डेंगुका बिरामी नभएको घर भेटिँदैनन्। डेंगुका बिरामी दिनानुदिन बढ्दै गएपछि स्थानीयवासी मिलेर आफैंले लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको स्थानीय ऋषि आजादले जानकारी गराए। बुटवलका गोलपार्क, मिलनचोक, योगीकुटी, कालिकानगर, देविनगरलगायत क्षेत्रबाट दिनुहँ डेंगुका बिरामीहरू आइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर शम्भु खनालले जानकारी गराए। 

कर्णालीका बाक्लो बस्तीमा बढी संक्रमित

कर्णालीका जिल्लाहरूमा पछिल्लो समय डेंगुको संक्रमण बढेको छ। दैनिकजसो डेंगुका बिरामीहरू अस्पताल र मेडिकलमा उपचारका लागि पुग्न थालेका हुन्। प्रदेश राजधानी सुर्खेत सबैभन्दा बढी जोखिममा छ। बाक्लो बस्ती र सहरीकरणका कारण सुर्खेतमा डेंगु फैलिएको स्वास्थ्य विज्ञ बताउँछन्।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार साउन र भदौमा मात्र जिल्लामा डेंगुका दुई सय जना बिरामी फेला परेका छन्। यो तथ्यांक अस्पतालमा उपचारका लागि आएका र परीक्षण गरिएका बिरामीहरूको मात्र हो। कतिपय बिरामीहरूले परीक्षण नगराएकाले यो संख्या अरू बढी हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका फोकलपर्सन उदय विसी भने, ‘डेंगुको संक्रमण बढ्दो छ। यो साउन र भदौमा मात्र जिल्लामा दुई जना बिरामी फेला परे। यसको संक्रमण अझ बढ्दो क्रममा छ, ज्वरोका बिरामीहरू उपचारका लागि आउनेक्रम रोकिएको छैन।’ 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेश कालिकोट, रुकुमपश्चिम र सल्यानलगायतका जिल्लामा पनि डेंगुका बिरामीहरू बढ्न थालेको जनाएको छ। संक्रमण बढ्न थालेपछि निर्देशनालयले जोखिमयुक्त जिल्लाहरूमा सतर्कता अपनाउन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको हो।

बैतडीमा डेंगु र स्क्रब टाइफस

बैतडीमा पनि डेंगु र स्क्रब टाइफसका बिरामीहरू भेटिन थालेका छन्। पछिल्लो एक साताको अवधिमा बैतडीमा ६ जनामा डेंगु देखिएका जिल्ला अस्पताल बैतडीले जनाएको छ। ६ जनामा डेंगु देखिएकोमा ३ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख, मेडिकल सुरेपरिटेन्डेन्ट डा. दिपेश श्रेष्ठले जानकारी दिए। 

तराईका जिल्लामा मात्रै नभई पहाडी जिल्लामा पनि यसको संक्रमण बढ्दो रूपमा देखिनु खतराको संकेत रहेको उनले बताए। पछिल्लो समयमा स्क्रब टाइफस र डेंगुका बिरामीहरू दिनहँु बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्क्रब टाइफसका बिरामीहरू पनि दिनहँु बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए।

किटजन्य रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमका लागि वर्षैपिच्छे बजेट आइरहने गरेको छ। संघीय तथा प्रदेश सरकारबाट सचेतनामूलक कार्यक्रमका लागि मात्रै बजेट आउने गरेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले जानकारी दिए। 

किशोर बुढाथोकी  / विराटनगर
केशवशरण लामिछाने  / पोखरा 
ललितबहादुर बुढा  / सुर्खेत
केशरराज क्षेत्री  / बुटवल
कृष्ण बिष्ट  / बैतडी
बलराम पुडासैनी  / हेटौंडा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.