'स्वदेशी औषधि उद्योगको सम्वर्द्धनका लागि सरकार सहयोग गर्न तयार छ'
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन्।
बिहीबार नेपा केयर फर्मास्युटिकल्स प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले स्वदेशी उद्योगको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको भन्दै सहयोग गर्न तयार रहेको बताएका हुन्।
उनले औषधि उद्योगहरूलाई आफ्नो दायित्व बिर्सन नहुने भन्दै आम जनताको हित सम्झेर काम गर्न आग्रह गरे।
केसीले भने, 'गुणस्तरीय औषधिहरू जनतालाई सहज रूपमा उपलब्ध गराउनुहोस्, राज्यले तोकेका मापदण्ड पूरा गर्नुहोस् र काम अघि बढाउनुहोस्। त्यसमा राज्यले के गर्नुपर्छ हामीलाई भन्नुहोस् सहयोग गर्न हामी तयार छौं।'
स्वास्थ्य राज्यमन्त्री केसीले नेपाललाई औषधिमा आत्मनिर्भर गराउने नीति रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको बताए।