प्रदेशसभामा एकल सिफारिस भएका समाजवादीका केन्द्रीय सदस्य एमाले प्रवेश
बुटवल : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं अर्थ तथा योजना विभागका उपप्रमुख डा.बालकृष्ण चापागाईं नेकपा एमालेमा प्रवेश गरेका छन्।
चापागाईं समाजवादीबाट रुपन्देही क्षेत्र नम्बर २ (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि एकल सिफारिसमा परेका थिए।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उनको निवास बालकोटमा माला र टीका लगाएर स्वागत गरेको एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
एमाले विभाजन हुँदा चापागाईं माधव नेपाल पक्षले स्थापना गरेको नेकपा एकीकृत समाजवादीमा थिए। बुटवल निवासी डा.चापागाईं यस क्षेत्रका पुराना पत्रकार हुन्।
उनी प्रेस चौतारी नेपाल र राष्ट्रिय समाचार समिति (रासस) का पूर्व अध्यक्ष समेत हुन्।