सुरक्षित गर्भपतन गराउने घटे
डोटी : जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा कमि आएको छ। विगत चार वर्षको तथ्याङ्क हेर्दा पछिल्लो वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाका पैरवीका बारेमा गरिएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीले तथ्याङ्क सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०६६ मा एक हजार एक सय ४७, २०७६/०७७ मा एक हजार ३१, २०७७/०७८ मा एक हजार एक सय ११ र आर्थिक वर्ष २०७८/०७९ मा नौ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्।
सुरक्षित गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका आर्थिक वर्ष २०७५/०६६ मा ७० जना, २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ३५ जना र २०७८/०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए।
परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख जोशीले बताए।
विगतका दुई वर्ष कोभिडका कारण रोजगारीका लागि विदेश गएकाहरु घर आएका कारण गर्भपतन गराउनेको संख्या बढेको र पछिल्लो वर्षमा परिवार नियोजनको सेवा लिने बढ्नुका साथै गोपनियतालाई मध्यनजर गर्दै कसैले मेडिकलबाट औषधि किनेर पनि गर्भपतन गराएका कारण सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्ने जोशीले बताए।
जिल्लामा २७ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ। जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन उनले अनुरोध गरे।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपन सेवाका बारेमा जिल्लाका स्थानिय तहले स्वास्थ्य नीति बनाउन ढिलाइ गरेको आइपास नेपालका सुदूरपश्चिम प्रदेश कोर्डिनेटर उपेन्द्र कुँवरले बताए।
यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा सबैलाई जानकारी नहुँदा जोखिम बढ्दै गईरहेको उनले बताए।
सामुदायिक विकास मञ्च नेपालका फोकलपर्सन सिद्धराज जोशीले बालविवाह गर्दा, धेरै बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गर्दा, विभिन्न औषधी सेवन गर्दा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा समुदायस्तरमा महिलाको चेतना अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्ने बताए।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतनका विषयमा काम गर्दै आइरहेको सामुदायिक विकास मञ्च नेपालका कार्यक्रम अधिकृत मधु पोख्रेलले प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जवाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा पहल हुनुपर्ने बताइन्।
समुदायस्तरमा यौन प्रजनन् स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन स्वास्थ्यका बारेमा खुलेर विचारविमर्श पनि नहुँदा समस्या निम्तिएको उनले बताइन्।