'अब ढुक्क' सेनेटरी प्याड बजारमा

काठमाडौं : सार्क राष्ट्रका महिला उद्यमीहरूको चेम्बर स्वएक नेपालले बायोडिग्रेडेबल सेनेटरी प्याड 'अब ढुक्क' बजारमा ल्याएको छ।
संस्थाकी उपाध्यक्ष सरोजिनी सेरचनका अनुसार प्रत्येक छात्रालाई नेपालमै बनेको सेनेटरी प्याड उपलब्ध गराउने उद्देश्यले प्याड बजारमा ल्याइएको हो।
'२०१९ मा श्रीलंकाले हाम्रो टोलीलाई आमन्त्रित गरेको थियो जहाँ हामीले बायोडिग्रेडेबल सेनेटरी प्याड उत्पादन गरेको देख्यौं। 'स्वएक श्रीलंकाको यो परियोजनाले हामीलाई नेपालमा पनि यस्तै काम सुरु गर्न प्रेरित गर्यो,' उनले भनिन्।
अब छिटै शतप्रतिशत कम्पोस्ट सेनेटरी प्याडहरू निर्माण गर्न लागेको उनले जानकारी दिइन्। 'अब ढुक्क' आयोजनाका संयोजक जुलिया चित्रकारले परियोजनाको यात्राबारे जानकारी दिइन्।
'धेरै उतारचढावहरू पार गर्दै हामीले तीन वर्षमा हाम्रो उत्पादन बजारमा ल्याउन सक्षम भयौँ,' उनले भनिन्। उनले यो उत्पादन बजारमा ठूलो मात्रामा उपलब्ध हुने विश्वास पनि व्यक्त गरिन्।
'नेपाली इन्जिनियरहरूले नेपालमै बनाएको मेसिनबाट तीन वर्षअघि प्याड उत्पादन गर्न थालेका थियौं,' उनले भनिन्, 'तर मेसिनमा केही समस्या आएपछि नयाँ मेसिन किन्ने प्रक्रियाले सेनेटरी प्याड उत्पादनमा ढिलाइ भयो।' कोभिड महामारीले पनि हाम्रो परियोजनामा अवरोध पुग्यो।'
यस परियोजनाले सबै प्रदेशका महिलालाई उद्यमशीलतामा संलग्न गराउने लक्ष्य राखेको छ। भन्सार विभागको तथ्यांकअनुसार नेपालले पछिल्लो आर्थिक वर्षमा एक अर्बको सेनेटरी प्याड आयात गरेको छ।
आयोजनाले प्याडको आयात घटाउने पनि लक्ष्य राखेको छ। यस संस्थाले दुई अपाङ्गता भएका महिला सृष्टि श्रेष्ठ र शिखा प्रधानलाई तालिम दिएको छ र ती दुवैले सेनेटरी प्याड उत्पादनको जिम्मेवारी लिएका छन्।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले आयोजनाको राम्रो भविष्यको कामना गर्दै टोलीले माग गर्दा सहयोग गर्ने आश्वासन दिए।
प्रतिक्रिया दिनुहोस !
