बागमती प्रदेशमा एकैदिन ८७८ जनामा डेंगु संक्रमण , संक्रमितको संख्या ७ हजार ५३२ पुग्यो
हेटौंडा : बागमती प्रदेशमा डेंगुका बिरामी बढेका छन् । आज एकैदिन थप ८७८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र झाले जानकारी दिए ।
सोमबार संक्रमितको संख्या ६ हजार ६५४ रहेकोमा मंगलबार ७ हजार ५३२ पुगेको उनले बताए । प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित लतिपुरमा छन् । ललितपुरमा मात्रै हालसम्म ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार २०७, चितवनमा १७९, धादिङमा १२१ र अन्य जिल्लाहरुमा पनि संक्रमित भेटिएका छन् ।
संक्रमित अधिकाँश बालबालिका र वृद्धवृद्धा रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
कतिपय संक्रमितको काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, हेटौंडा अस्पताल, चितवनको भरतपुर सरकारी अस्पताललगायतका अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ जनास्वास्थ्य प्रशासक झाले जानकारी दिए ।