सिन्धुलीको दुई नगरपालिकामा लामखुट्टे नष्ट गर्न अभियान
सिन्धुली : सिन्धुलीमा डेंगुको संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा नष्ट गर्न अभियान थालिएको छ।
कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले नगर क्षेत्रमा डेंगु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्न थालेका हुन्।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र दुधौली नगरपालिकाका प्रमुख दिनेश कुमार अधिकारीको नेतृत्वमा लामखुट्टेको बासस्थान रहेको, लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गर्न थालिएको हो।
यसका लागि दुवै नगरले टोली नै बनाएर लामखुट्टेका लार्भा नष्ट गर्न विषादी छम्कन थालेका हुन।
जिल्लामा पछिल्लो केही दिनयता डेंगुको संक्रमण बढेको छ। हालसम्म ९७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। उक्त संख्यामध्ये सबैभन्दा धेरै कमलामाई नगरपालिकामा छन।
कमलामाई नगरमा ७४, दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन/तीन जनामा डेंगु भाइरसको संक्रमण भएको पाइएको छ। तीमध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ।
दैनिकजसो डेंगुको संक्रमण बढ्न थालेपछि लामखुट्टेको नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान थालिएको कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख पोखरेलको भनाइ छ।
'नगरभित्र धेरैजसो डेंगुको संक्रमण पुष्टि भएपछि नगरले स्वास्थ्य तथा सरसफाइ शाखाका कर्मचारीहरू परिचालन गरेर लार्भा नष्ट गर्न थालिएको हो,' उनले भने।
यस्तै दुधौली नगरपालिकाले समेत नगरको बस्तीहरू लामखुट्टेको अति जोखिम रहेका बजार, सार्वजनिक स्थलहरूमा समेत विषादी छर्किने थालिएको नगर प्रमुख अधिकारीले बताए।
'फोहोर, पानी जम्ने स्थान, झ्याडीहरूमा धेरैमात्रमा लामखुट्टेको लार्भाहरू हुने भएकाले त्यस्ता स्थानहरूको पहिचान गरी प्राविधिकहरूमार्फत विषादी छर्किने काम भइरहेको छ,' अधिकारीले भने।
सिन्धुली अस्पतालका डाक्टर सागर देबकोटाका अनुसार जिल्लामा डेंगुबाट संक्रमित हुनेहरूको संख्या दिनदिनै बढ्दै गएको छ।
संक्रमितमध्ये १२ को अवस्था जटिल छ। उनीहरूमा उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनु परेको छ। यो तथ्यांक साउन १ देखि भदौ २८ सम्मको हो।
डेंगुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उनको भनाइ छ।
डेंगु भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन।