प्रदेश १ मा डेंगुका बिरामी ४४६ पुगे
धनकुटा : पछिल्लो समय प्रदेश १ मा डेंगुको संक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढिरहेको छ।
सोमबारसम्म प्रदेश १ का १४ जिल्लामा डेंगुका बिरामी ४ सय ४६ जना पुगेका स्वास्थ्य निर्देशनालय धनकुटाको चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखाका जनसम्पर्क अधिकृत दिलिपकुमार सिंहले बताए।
प्रदेशस्थित तराइका जिल्लाभन्दा पहाडी र हिमाली जिल्लामा बढिरहेको छ। प्रदेशका जिल्लाहरूमध्ये सबैभन्दा बढी संक्रमित संखुवासभामा रहेका जनसम्पर्क अधिकृत सिंहले बताए। संखुवासभामा १ सय २२ डेंगु संक्रमित छन्।
दोस्रोमा तेह्रथुममा रहेको छ। जहाँ सोमबारसम्म ८२ डेंगु संक्रमित छन्।
सुनसरीमा ७३, मोरङमा ४२, झापामा ३५, ओखलढुंगामा २१, उदयपुरमा २१, खोटाङमा १९, धनकुटामा ११, पाँचथरमा ८, भोजपुरमा ७ जना, ताप्लेजुङ र सोलुखुम्बुको दुई दुई जना डेंगुका बिरामी छन्।
डेंगुका बिरामीहरूको उपचार स्वास्थ्य संस्थामा भइरहेको छ। डेंगुबाट एक जनाको मृत्यु भएको भनिए पनि पुष्टि हुन सकेको छन। अहिलेसम्म डेंगु संक्रमित बिरामीको मृत्यु नभएको सिंहले बताए।
स्वास्थ्य संस्थामा जनशक्ति तयारी अवस्थामा राखिएका कारण नआत्तिन उनले अनुरोध गरे। उनले घर अगाडिका पानी जम्ने खाल्डाखुल्डी पुरेर सरसफाईमा ध्यान दिन सके महामारीबाट बच्न सकिने बताए।
सुनसरीको धरानमा तीन वर्षअघि डेंगुको संक्रमण फैलिएको थियो।