सुत्केरी हुन नसकेपछि उद्धार
जाजरकोट : सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ।
सुत्केरी वेथा लागेको दुई दिनसम्म पनि सुत्केरी हुन नसकेपछि जिल्लाको कुशे गाँउपालिका-९ पोरी पैक निवासी गौरी खड्कालाई मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको हो।
सुत्केरी हुन नसकेपछि उनलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्यकर्मीले उनको अवस्था जटिल भएको भन्दै तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरेका थिए।
स्वास्थ्यकर्मीको सिफारिसका आधारमा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकोप्टर झिकाएर महिलाको उद्धार गरिएको हो। उनलाई प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ।