डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल : एमाले
काठमाडौं : नेकपा एमालेले डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भएको जनाएको छ। एमाले सचिव एवम् स्वास्थ्य जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपको बारेमा ध्यानाकर्षण गराएका हुन्।
उनले डेंगु नियन्त्रणमा सरकार चुकेको उल्लेख गरेका छन्। जारी विज्ञप्तिमा भनिएको छ, ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ।’
साउन महिनामा नै व्यवस्थापिका संसदमा एमालेका सांसदले ठोस योजना र कार्यक्रमसहित डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गरिएको स्मरण गराएका छन्। भट्टराईले स्वास्थ्य संस्थामा बिरामीहरुका लागि बेड नभएको, स्वास्थ्यकर्मी समेत संक्रमित भएकाले उपचारमा समस्या भएको उल्लेख गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य संस्थामा विरामीहरुका लागि बेड छैन। हजारौंको संख्यामा बिरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्। स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ। सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ। फेरि पनि सरकार परिणामहीन भएको छ।’
एमालेले तिनै तहका सरकारबीच समन्वयात्मक परिचालन गर्न र सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि राज्यसँग माग गरेको छ। ‘हाम्रो पार्टी डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी/गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधीको सहज उपलब्धताका लागि राज्यसँग माग गर्दछ। ’भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यहरुलाई समेत डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान गर्दछ।’
एमालेले स्वास्थ्य संस्थामा नआई घरमै रहेका बिरामीहरुको संख्या धेरै रहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका बिरामीहरुको संख्या योभन्दा निक्कै धेरै रहेको छ। डेंगुबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ भने देशका ७५ जिल्लामा यो रोगका लक्षण फैलिएको छ।’