टरीगाउँ एयरपोर्टको स्तरोन्नतिका लागि पहल थाल्छु : हिराचन्द्र केसी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले टरिगाउँ एयरपोर्टको स्तरोन्नतिसँगै बजेट सुनिश्चित भएको बताएका छन्।
बिहीबार दाङको तुल्सीपुरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले एयरपोर्टको स्तरोन्नतिका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका हुन्।
राज्यमन्त्री केसीले भने, 'अहिले एयरपोर्ट विस्तारका लागि एक प्रकारको परिस्थिति निर्माण भएको छ। यहीलाई आधार मानेर भविष्यमा जो आएपनि एयरपोर्ट विकासको काम निरन्तर अगाडि बढ्छ।'
एयरपोर्टको विकासका लागि तुल्सीपुर क्षेत्रका नागरिक सकारात्मक हुन आवश्यक रहेको बताए। टरिगाउँ एयरपोर्टको स्तरवृद्धि एकजना व्यक्ति विशेषलाई मात्रै नभएर सम्पूर्ण दंगालीलाई आवश्यक रहेको केसीको भनाइ छ। एयरपोर्ट व्यवस्थित बनाउन सबै एक हुन आवश्यक रहेको बताए।
स्वास्थ्य राज्यमन्त्री केसीले भने 'अब यो एयरपोर्ट बन्छ। नकारात्मक सन्देश नदिऔं। हामी यस क्षेत्रका नागरिकलाई एयरपोर्ट चाहिएको छ। सबैले आ-आफ्नो तर्फबाट पहल गरौं।'