उनी, छापिएका प्रथम कार्टुनिस्ट

उनी, छापिएका प्रथम कार्टुनिस्ट

२०१४ सालको कुरा हो, अध्ययनका क्रममा भारत पुगेका ती विद्यार्थीलाई लागेकै थिएन, समकालीन राजनीतिका बारेमा उनले अभिव्यक्त गरेको फरक प्रकृतिको प्रतिक्रिया इतिहासमा त्यसरी अंकित हुनेछ। एउटै शरीरमा दुइटा उस्तै टाउका देखाउनु थियो, उनले एउटा टाउको बनाएर कागज पट्याए, अर्को टाउको पनि उस्तै बन्यो। शरीरमा नेपाली कांग्रेस लेखे, काँधमा मादल भिराइदिए। अनि एउटा मुखले भन्न लगाए, विधानसभा रेलिमै हाम्रो छ नारा। अर्को मुखमा राखी दिए, मन्त्री पद पाए रेलिमै संसदै होस् राजा। चित्रको मुनि गणेशमान सिंहले सोधेजस्तो देखाइदिए, यो गाईजात्रा हो ? काठमाडौंबाट निस्कने संयुक्त प्रयासमा उनले पठाएको त्यही रेखाचित्र महत्वका साथ छापियो। त्यसको ४४ वर्षपछि २०५८ सालमा मसँगको कुराकानीमा त्यस अखबारका सम्पादक शिवहर सिंह पागलले नक्सालस्थित आफ्नै निवासमा भने, त्योभन्दा पहिले अर्को कुनै व्यंग्यचित्र नेपालका पत्रपत्रिकामा छापिएको थाहा छैन।

नेपाली छापामा प्रकाशित पहिलो कार्टुनका सर्जक गोवर्धन विक्रम शाहले ८९ वर्षको उमेरमा तेह« दिनअघि मध्यराततिर कुपण्डोलस्थित आफ्नै निवासमा पत्नी, तीन छोरालगायत आफन्तजनको माझजीवनबाट विश्राम लिए। हुन त उनका भाइ वरिष्ठ कलाकार शशी शाह उनलाई आफ्नो कार्टुन कलाका गुरु मान्छन्। शशी शाहका कार्टुन रैथाने उपनाममा समीक्षाजस्ता स्वदेशी साप्ताहिकमा मात्र होइन, शशी बी. शाहका नाममा भारतका धर्मयुग र दिनमानमा समेत छापिएका छन्। तर, गोवर्धनले भने आफूलाई कहिल्यै कलाकार वा कार्टुनिस्टका रूपमा उभ्याउन चाहेनन्। 

यो कुरा बेग्लै हो, इतिहासको एउटा मोडमा उनी कार्टुनसँग यसरी जोडिए, आजका व्यावसायिक कार्टुनिस्टहरू उनको ऊ बेलाको प्रयत्नलाई बिजारोपण मान्दछन्। नेपाली पत्रकारितामा कार्टुन वा क्यारिकेचरकलाको बिजारोपण २०१४ साल साउनमा संयुक्त प्रयास साप्ताहिकमा छापिएको गोर्वधन विक्रमले बनाएको त्यो कार्टुन आज पनि तत्कालीन नेपाली राजनीतिको बयान सक्षम छ। त्यसैले त्यो नेपाली छापामा छापिएको पहिलो सम्पादकीय कार्टुन हो।

१९९३ जेठमा नेपाल प्रजापरिषद्को गठन भएपछिको शाहविरोधी आन्दोलनको सुशुप्त वा प्रकट रूप वा उतारचढावका क्रममा उपत्यकामा वरिष्ठ कलाकार चन्द्रमान सिंह मास्केका कार्टुनहरू वितरण गरिएका थिए। साहित्यकार धच गोतामेले आफ्नो बाल्यकालको स्मृतिमा शाहहरूलाई होच्याउन अश्लील संकेतहरूको प्रयोग गर्दै बनाइएका कार्टुनका बारेमा उल्लेख गरेका छन्। साहित्यकार तथा कार्टुनिस्ट प्राध्यापक रामकुमार पाँडेले शाहलाई कुकुर र स्याल, राजालाई सिंह र जनतालाई हात्तीका रूपमा चित्रण गरिएको कार्टुन आफ्नो लेखनमा प्रस्तुत गरेका छन्। मास्केका परिवारबाट प्राप्त गरी पाँडेले प्रस्तुत गरेको कार्टुन वा गोतामेले उल्लेख गरेका कार्टुन नेपालका सुरु आपतकालीन राजनीतिक कार्टुनहरू हुन्। तर, छापाको अभाव र राजनीतिक बन्देजका कारण ती कार्टुनहरू अप्रकाशित नै रहे। त्यस्ता हातैले बनाइएका र यन्त्रको प्रयोगबाट व्यापक उत्पादन नभएका केही सीमित सक्कली प्रतिहरू समयक्रममा नष्ट भएका पनि हुन सक्छन्।

२००७ सालको राजनीतिक परिवर्तनपछि नेपाली छापामा सुरु भएको कार्टुनकलाको प्रारम्भिक कालको पृष्ठभूमि भने त्यसअघिका नछापिएका कार्टुनहरूले नै तयार गरेका थिए। ०१७ सालदेखि २०४६ सालसम्मको माध्यमिककालमा नेपाली कार्टुन नारा, ठाडो आक्रमण वा कलाविहीन प्रस्तुतिबाट केही माथि उठ्न सक्यो। तर, सम्पादकको सोचलाई रेखाचित्रमा उतार्ने होइन, स्वतन्त्र ढंगले आफैंले आफ्नो सिर्जना प्रस्तुत गर्ने कार्टुनिस्टहरू २०४६ सालपछिका आधुनिक कालका उत्पादन हुन्। केही वर्षअघि कार्टुनिस्टहरूले काठमाडौंमा आयोजना गरेको एउटा कार्यक्रममा कुनै समय मातृभूमि साप्ताहिकको कार्टुनिस्ट पनि भएका वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले भनेका थिए, कार्टुनिस्टले त सम्पादकले बताएअनुसार बनाइदिने हो। तर, माध्यमिक कालदेखि अनवरत रूपमा कार्टुन बनाइरहेका दुर्गा बराल (बात्सायन) का खासगरी आधुनिक कालका कार्टुनहरू उनका मौलिक सिर्जना हुन् भन्ने प्रष्ट देखिन्छ। आधुनिक कालका अशोकमान सिं, रविन सायमिदेखि राजेश केसी, अविन, वासु क्षितिज, देवेन्द्र थुम्केली, केशवराज खनाल वा रवि मिश्रलगायत अधिकांश कार्टुनिस्ट मौलिक सिर्जनाका रूपमा सम्पादकीय वा राजनीतिक वा ख्याल–ठट्टा कार्टुनहरू प्रस्तुत गरिरहेका छन्।

अत्यन्त सराहनीय पक्ष के छ भने आजका जल्दाबल्दा, सीप, कौशल र व्यंग्यचेतका दृष्टिले अब्बल नेपाली कार्टुनिस्टहरू आफ्नो इतिहासप्रति अत्यन्त जिज्ञासु र सचेत छन्। यस सन्दर्भमा कार्टुनिस्ट कल्ब अफ नेपाल (सिकोन) ले अगुवाइ गरेको छ। नेपालमा मिडिया हिस्ट्रीका पायोनियर गृष्मबहादुर देवकोटाले आफ्नो बहुचर्चित पुस्तक छापाखाना र पत्रपत्रिकाको इतिहासमा गोवर्धनविक्रम शाहलाई पहिलो कार्टुनिस्टका रूपमा ठोकुवा गर्न सायद पर्याप्त आधार पाएनन्। उनले पहिलोपटक कार्टुन छाप्ने पत्रिका संयुक्त प्रयास साप्ताहिक हो भन्ने उल्लेख गरेका छन्। २०५८ सालमा नेपाल प्रेस इन्स्टिच्युटले छापेको नेपाली प्रेसमा कार्टुन नामक पुस्तकको तयारीका क्रममा मैले पहिले शिवहरसिंह पागल र त्यसपछि गोवर्धन विक्रमका साथै शशी शाहलाई पनि भेटेर लामो कुराकानी गरेको थिएँ।

त्यसपछि लेखेको थिएँ, गोवर्धनविक्रम शाह आफ्नो रुचिका कारण राजनीतिक घटनाक्रमप्रतिको प्रतिक्रिया स्वरूप कार्टुनहरू बनाउँथे। उनले नेपाली कांग्रेसलाई दुई टाउको वा दुईवटा मुख भएको व्यक्तिका रूपमाा चित्रण गर्दै बनाएको कार्टुनका सन्दर्भमा त्यो पुस्तकमा लेखेको थिएँ, योभन्दा पहिले छापिएको अर्को कुनै व्यंग्यचित्र फेला नपरेसम्म हामीले गोवर्धनविक्रम शाहको त्यही चित्रलाई पहिलो प्रकाशित नेपाली व्यंग्यचित्र भनेर मान्नै पर्ने हुन्छ। १२ वर्षपछि अविन श्रेष्ठले कार्टुनिस्ट क्लबको अध्यक्षका रूपमा शाहलाई त्यही योगदानका लागि बराथा स्मृति सम्मान–२०७० अर्पण गरे। प्रमुख अतिथि अशोकमान सिं र उनले हस्ताक्षर गरेको धातुको सम्मान पत्रमा अंकित अक्षरहरूमा नेपाली छापा माध्यममा पहिलोपटक कार्टुन प्रकाशित गरी नेपाली पत्रकारितामा यस विधाको श्री गणेश गर्ने श्रेय उनलाई दिइएको छ।

यसबीच, २०७५ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट छापिएको कार्टुनसम्बन्धी मेरो दोस्रो पुस्तक नेपालमा कार्टुनकलाको इतिहासमा यस सम्बन्धमा थप व्याख्या गरेँ। जसमा उल्लेख छ, त्यो कार्टुन न त सम्पादकको निर्देशनमा बनाइएको थियो, न त व्यावसायिक कार्टुनिस्टद्वारा बनाइएको थियो। वस्तुतः त्यो कार्टुन एकजना पाठकद्वारा प्रेषित सचित्र प्रतिक्रिया थियो। त्यतिखेर पटनामा स्नातकोत्तर तहको परीक्षा दिन गएका गोवर्धनविक्रम शाहले त्यसअघि कहिल्यै कार्टुन छपाएका थिएनन्। राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेपछि कांग्रेसका नेता डि.के. शाहीसँगको मित्रताका कारण उनी राजनीतितर्फ पनि होमिन सक्थे। तर, उनी सरकारी सेवामा प्रवेश गरे, आफ्नो अवधि पुर्‍याएर परराष्ट्र मन्त्रालयको जागिरे जीवनबाट अवकाश लिए।

त्यसबीच उनी ल्हासाको कन्सुलेट जनरल भए, स्वीट्जरल्यान्डको नेपाली दूतावासमा पनि कार्यरत रहे। अवकाश प्राप्त जीवनमा रोगव्याधीसँग जुझ्दै गर्दा उनी भन्ने गर्थे, मेरो त २५ प्रतिशत मात्र फोक्सो बाँकी छ। अन्ततः श्वास–प्रश्वासकै समस्याका कारण उनको निधन भयो। एउटा कार्टुनिस्टको निधनको समाचार बनेन। उनको अवसान परिवारका लागि एक वृद्ध अभिभावकको दुःखद् तर अवश्यंभावी अवसान मात्र भयो। त्यसैले किरियामा रहेका उनका शोक सन्तप्त परिवारजन समक्ष कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष प्रखर कार्टुनिस्ट वासु क्षितिजसहितका जल्दाबल्दा कार्टुनिस्टहरू पुग्दा सबैका मुखाकृतिमा केही आश्चर्य भाव झल्किएको पढ्न सकिन्थ्यो। उनको जीवनमा कार्टुनले धेरै समय ओगटेन, तर उनले दिएको अति संक्षिप्त समयले नेपालका कार्टुनिस्टहरूमा अमिट छाप छोडेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.