डोटीमा सुरक्षित गर्भपतन गराउने घटे
डोटी : डोटी जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्यामा घट्दै गएको छ। चार वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको हो।
स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०६६ मा सुरक्षित गर्भपतन गराउनेहरू एक हजार एक सय ४७ रहेका छन्।
आर्थिक वर्ष २०७६/०७७ मा एक हजार ३१, आर्थिक वर्ष २०७७/०७८ मा एक हजार एक सय ११, र आर्थिक वर्ष २०७८/०७९ मा नौ सय २६ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्।
सुरक्षित गर्भपतन गराउने मध्य २० वर्ष मुनिका आर्थिक वर्ष २०७५/०६६ मा ७० जना, २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ३५ जना र २०७८/०७९ मा ४० जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए।
परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको संख्यामा कमी आएको उनले बताए।
पछिल्लो वर्षमा परिवार नियोजनको सेवा लिनेको संख्या बढेको र मेडिकलबाट औषधि किनेर गर्भपतन गराएका कारण सुरक्षित गर्भपतन गराउने घटेका हुन सक्ने जोशीले बताए।
आज डोटीमा आठौं राष्ट्रिय सुरक्षित गर्भपतन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 'सुरक्षित गर्भपतन अपराध होइन अधिकार हो' भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो।
स्वास्थ्य कार्यालय डोटीको आयोजना तथा प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्दै आइरहेका आइपास तथा सामुदायिक विकास मञ्चको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
परिवार नियोजन डोटीले महिला स्वयंसेविका तथा सम्बन्धित व्यक्तिहरूसँग दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले मानव स्वास्थ्यलाई ठीक ढंगमा राख्न महिला स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेका बताए।