कविकुञ्जको चीरहरण

कविकुञ्जको चीरहरण

कवि, कलाकार वा राष्ट्रका निधिहरूको सम्झना गर्ने तरिका अनेक छन्। त्यसमध्ये अग्रपंक्तिमा आउँछ, त्यस्ता व्यक्तित्वको निवासलाई संग्रहालय बनाउने काम। नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई पनि सरकारले संग्रहालय बनाएको छ, जसको उद्घाटन शुक्रबार भयो। कविको सम्मान सरकारबाट हुने कुरामा सबैले स्वागत गर्ने नै भए। तर, महाकविको निवास जुन कविकुञ्जका रूपमा परिचित थियो, त्यसलाई पुनर्निर्माण गरी संग्रहालय बनाएपछि भने विरोधका स्वर पनि सुनिएका छन्। कारण संग्रहालय बनाइयो भनेर होइन, पुनर्निर्माण गरियो भनेर पनि होइन। पुरानै स्वरूपमा बन्न सकेन भनेर हो।

नेपाल प्रज्ञा प्रतिष्ठानले बनाएको हो महाकविको घरलाई संग्रहालय। साहित्य, कला र संस्कृतिलगायत क्षेत्रबाट मुलुकलाई योगदान गरेका व्यक्तित्वहरूका अमरत्वका लागि सरकारले खासै चासो देखाएको पाइन्न। जुन राजनीतिक दलको सरकार बन्छ, उसकै नेताहरूका नाम चम्काउने गरी विभिन्न संरचना निर्माण गरिन्छ। त्यस्तो प्रवृत्तिका बाबजुद नेपाल सरकारले लगानी गरी महाकविको घर पुनर्निमाण गर्नु र संग्रहालय बनाउनु आफैंमा सुखद पक्ष हो। महाकविको मात्रै नभई सम्पूर्ण साहित्यको गरिमालाई सम्मान गर्नु हो। तर सम्मानचाहिँ बेढंगले गरियो, भाँती पुगेन भन्ने स्वरहरू उठ्नाले कविकुञ्जलाई विवादरहित बनाउन सकेन। जसमा प्रज्ञा प्रतिष्ठानबाट खास कमजोरी देखिएको छ।

साहित्यको श्रीवृद्धिका लागि सरकारले स्थापना गरेको प्रज्ञा प्रतिष्ठानको धर्म साहित्य, कला र संस्कृतिको उन्नयनमा योगदान गर्नु हो। त्यससँग सम्बन्धित व्यक्तित्व र राष्ट्रका निधिहरूको सम्मानमा कर्म गर्नु हो। नियत त पक्कै पनि महाकविको सम्मानै गर्ने थियो होला प्रतिष्ठानको पनि। तर, बलमिच्याइँ र हठ बढी गर्दा उसले त्यो सम्मानको मूल्य राख्न सकेन। किनभने जसरी महाकविको घर अर्थात् कविकुञ्ज पुनर्निर्माण हुनुपथ्र्याे। त्यसरी भएन, केवल संग्रहालयमा परिणतमात्रै भयो घर। सामान्य वा विशिष्ट व्यक्तिको निवास भनेको चार दिवार र छानामात्रै होइन। घरमा पनि एक किसिमको आत्मा हुन्छ, त्यो आफैं वैशिष्ठ्यले युक्त हुन्छ। जुन वैशिष्ठ्यता महाकविको कविकुञ्जमा थियो, त्यो आजको संग्रहालयमा छैन।

वास्तवमा महाकविको निजी घर उनको निजी रहेन, थिएन र होइन। उनी आफैंमा राष्ट्रको निधि हुनुको नाताले उनको निजी निवासै पनि राष्ट्रको सम्पत्ति हो। सरकारले त्यही मर्म बुझेरै कविकुञ्जलाई राष्ट्रिय सम्पत्ति बनाएको थियो। उनका सन्तानले पनि सरकारी त्यो पहलमा स्वीकृति जनाएका थिए। प्रतिष्ठानले पुरानै स्वरूपमा निर्माण पहल गरेको बताए पनि कतिपयलाई यसमा चित्त बुझेको छैन। यसो हुनुको कारण उसले अरू सरोकारवाला र साहित्यजगत्का विद्वान्हरूसँग सरसल्लाह नगरेको प्रतीत हुन्छ। साहित्यकारहरूका निवासलाई संग्रहालय बनाउने चलन हाम्रोमा भन्दा पहिला विदेशतिरै प्रख्यात भइसकेको संस्कृति हो। चाहेका चीनका लु सुन होउन् वा बेलायतका चाल्र्स डिकेन्स र सेक्सपियर। उनीहरूकोमा सयौं वर्षअघिको स्वरूप जस्तोको तस्तै राखिने र हाम्रोचाहिँ त्यस्तो नभएकोमा नै हो, दुःख व्यक्त गरिएको।

महाकविको कविकुञ्ज यसै त पुरानो त्यसमाथि भूकम्पले भग्नावशेषमा परिणत गरेको थियो। पुनर्निर्माण नगरी धर थिएन। तर, पुनर्निर्माण कसरी गरियो भन्ने सवाल महŒवपूर्ण छ। विरोधका स्वर त्यसैमा आधारित हुन्। पुनर्निर्मित कविकुञ्ज पुरानै स्वरूपको बन्न सकेन। त्यसमा आधुनिकता पस्यो। कसैले महाकविको घर कस्तो थियो होला भनेर अध्ययन अनुसन्धान गर्न चाहँदा त्यो पुरानो स्वरूप भेट्दैन। भेट्न सक्छ त केवल महाकविका कृतिहरू, महाकविले प्रयोग गरेका सामानहरू। उनको कीर्तित्व र व्यक्तिको अध्ययन अनुसन्धान गर्ने थलो। पक्कै पनि संग्रहालय बनेको छ तर निवासको ढाँचा भने आधुनिक बन्न गएको छ। जसले महाकवि र इतिहास दुवैलाई अन्याय हुन पुगेको छ। वास्तवमा कविकुञ्जको चिरहरण भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.