दसैंमा मदिरा
काठमाडौं : दसैं भनेकै ‘राम्रो लगाउने र मीठो मसिनो खाने’ चाडको रूपमा लिन थालिएको छ । देश विदेशमा रहेका आफन्तहरू एकै ठाउँ जम्मा भई मीठो मसिनो खाने, जमरा लगाउने, आशीर्वाद लिने–दिने दसैंका विशेषता नै हुन् ।
केही वर्ष यता खानाका परिकारसँगै ‘रमाइलो’ गर्न मदिराको प्रयोग पनि बढ्दै गएको छ । विदेशी ब्रान्ड महँगो पर्ने र जहाँ पनि नपाउने हुँदा स्वदेशी ब्रान्डका रक्सी, वाइन, बियरजस्ता मदिरा उपभोग बढ्दै गइरहेको मदिरा उत्पादन संघको भनाइ छ । रक्सीमा ह्विस्की, रम, जिन, भोड्का, ब्रान्डीलगायतका ब्रान्ड बढी लोकप्रिय छन् । बियरमा नेपाली ब्रान्ड ब्राहसिंहे छ भने विदेशी र नेपाली सहकार्यमा आइरहेको काल्र्सबर्ग, टुबोर्गजस्ता बियरको उपभोग पनि बढ्दो छ ।
हाल ९० वटा कम्पनीहरूले विभिन्न नेपाली ब्रान्डका मदिराको उत्पादन गर्दै आइरहेका छन् । एक सय कम्पनीहरू अनुमतिको पर्खाइमा पनि छन् । दसैंमा विशेषत अरू समयको भन्दा मदिराको प्रयोग बढी हुने गरेको संघका अध्यक्ष बैजुप्रसाद बब्राको भनाइ छ । केन्द्रीय बैंकले मदिरा आयातमा रोक लगाएका कारण पनि यो पटकको दसैंमा आन्तरिक उत्पादनको खपत बढ्ने उनको भनाइ छ । विदेशी मुद्रा सञ्चितिलाई बढाउनका लागि भन्दै विदेशी मदिरासहित विलासिताका वस्तुको आयातमा केन्द्रीय बैंकले रोक लगाएको छ ।
मुलुकमा ७०यूभी (अन्ट्रा प्रुफ)देखि २५ यूभीसम्मका रक्सीका प्रकार पाइने गरिन्छ । ३ सय एमएलको ७०यूभीको रक्सीलाई ३५ देखि ५० रुपैयाँसम्म पर्ने मदिरा व्यवसायी अच्युत रिजाल बताउँछन् । बढीमा चार हजारसम्मका नेपाली रक्सी बजारमा पाइने गरेका छन् । फरक स्वाद र गुणस्तरीय उत्पादनका कारण सबै वर्गले नेपाली रक्सी पिउने गरेको उनको भनाइ छ ।
दसैंको धार्मिक तथा सांस्कृतिक महत्ववका कारण साथीभाइ भेटघाट तथा पारिवारिक जमघट हुने गरेको छ । यसरी भेटघाट हुँदा मदिराको मातमा रमाइलो गर्नुको मज्जा छुट्टै भएको रक्सी पारखीहरू भन्छन् । नेपालीमाझ पेय संस्कृतिको रूपमा भित्रिएको मदिरा स्वास्थ्य र धार्मिक कारण भने सबैले पिउँदैनन् । तर पनि दसैंमा हुने जमघटमा मदिराको सेवनको प्रयोग बढ्दै गइरहेको छ । सामान्य समयमा भन्दा दसैंमा मदिराको प्रयोग १५ देखि २० प्रतिशतले बढ्ने गरेको संघको तथ्यांक छ ।
नेपालमा नै उत्पादन हुने भए पनि कच्चापदार्थ भने भारतलगायतका मुलुकबाट आयात हुने गरेको छ । दसैंलाई लक्षित गर्दै विभिन्न कम्पनीहरूले नयाँनयाँ उत्पादन पनि सार्वजनिक गरिरहेका छन् । विशेषगरी भोड्का ब्रान्डका नयाँ उत्पादन बजारमा देख्न सकिन्छ । आकर्षक बोटल, लेबल, प्याकेजिङ र भिन्न स्वादका कारण नेपाली रक्सी मन परेको एक मदिरा पारखी बताउँछन् । साथीभाइसँग रमाइलो गर्न पनि रक्सी चाहिने उनी बताउँछन्् । विदेशी ब्रान्ड महँगो पर्ने हुँदा नेपाली रक्सी नै पिउने गरेको उनको भनाइ छ ।
यता, पछिल्लो समयमा वाइन पिउने चलन पनि बढेको छ । प्रायः महिला दिदीबहिनीहरूले रमाइलो गर्नका लागि वाइन पिउने गरेका छन् । अधिकांश वाइन फलफूलबाट बन्ने गरेका कारण फलफूलको नाम लिँदै वाइन पिउने पारखीहरूको संख्या बढेको छ ।
दसैंमा कोदो, भातबाट बनाउने स्थानीय रक्सीको प्रयोग पनि स्थानीयस्तरमा बढ्ने गरेको छ । कुनै लेबल वा प्याकेजिङबिना नै यस्तै लोकल रक्सीहरू बिक्री हुने गरेका छन् । कुनै पनि मापदण्डबिना स्थानीय सीप र संस्कृतिको रूपमा यी रक्सीहरूलाई लिने गरिन्छ भने भिन्नभिन्न जातीय सम्प्रदायमा यसको ठूलो महत्व रहने गरेको छ ।
मदिरा सेवन स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुने गरेको भए पनि पछिल्लो समयमा यसको प्रयोग पनि बढ्दो छ भने कोसेलीको रूपमा पनि मदिरा प्रयोग हुन थालेको पाइन्छ ।