जन्मगाउँ पुगेर थापाले भने, ‘उमेदवार बनेर आउन ४० वर्ष लाग्यो’
झिमरुक : प्युठानबाट प्रतिनिधिसभा सदस्यका उमेदवार सूर्य थापाले आफू उमेदवार बनेर गाउँ आउनका लागि ४० वर्ष लागेको बताएका छन्। उमेदवार मनोनयनपछि उनकै जन्मगाउँ झिमरुक गाउँपालिका १ सौतामारेमा आयोजित पहिलो चुनावी सभालाई सम्वोधन गर्दै थापाले ४० वर्षसम्म निरन्तर गरेको संघर्षपछि पहिलोपटक जनतासँग उमेदवार बन्ने हैसियत बनाएर गाउँ आएको सुनाए।
आफू जन्मेहुर्केको माटोमा गाउँलेसँग आर्शिवाद लिन पहिलो चुनावी कार्यक्रम बनाएर आएको थापाले सुनाए। जनप्रतिनिधि नभए पनि आफ्नो जन्मभूमिप्रतिको अभिभारा आफूले कहिल्यै नबिर्सेको उनले सौतामारेबासीलाई जानकारी गराए।
गाउँमा अहिलेसम्म भएको विकास निर्माण आफ्नै योगदानमा भएको दाबी गर्दै आफू सत्तामा वा सत्ता बाहिर जहाँ भए पनि गाउँ र समग्र जिल्लाको विकासमा भूमिका खेलिरहेको विश्वास दिलाए। ‘मलाई उमेदवार बनेर गाउँ आउन ४० वर्ष लाग्यो,’ सूर्य थापाले भने, ‘पार्टीले एकल निर्णय गरेर उमेदवार बनाएको छ। निर्वाचन कार्यालयमा दस हजार रुपैयाँ तिरेर उमेदवार बन्नका लागि मात्र होइन्, हजुरहरुको माया र आर्शिवादले जनताको प्रतिनिधी बनेर प्युठान बदल्ने अठोट हो।’