बारामा नाबालिग किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्षविरुद्ध जाहेरी
सिमरा : निजगढ नगरपालिका वडा नं. २ का वडाध्यक्षविरुद्ध नाबालिग किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ। १६ वर्षीया नाबालिग किशोरीका अभिभावकले मंगलबार साँझ वडाध्यक्षविरुद्ध निजगढस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।
किशोरीकी आमाले प्रहरी कार्यालय पुगेर वडाध्यक्षविरुद्ध दिएको किटानी जाहेरीमा दसैंको टिकाको दिन घटना भएको उल्लेख गरेकी छिन्। जाहेरी दिने क्रममा अभिभावकसँगै किशोरी समेत प्रहरी कार्यालय पुगेकी थिइन्।
वडाध्यक्षले दसैंको टिकाको राती साढे आठ बजे आफ्नै घरमा किशोरीमाथि यौन दुर्व्यवहार गरेको किशोरीकी आमाको आरोप छ। वडाध्यक्षले यसअघि पनि पटकपटक यौन दुर्व्यवहारको प्रयास गरेको र टिकाको दिन किशोरीलाई जबरजस्ती यौनजन्य गतिविधि गरेपछि न्यायका लागि उजुरी दिएको पीडित परिवारको भनाइ छ।
पीडित अभिभावकका अनुसार किशोरी र छिमेकी वडाध्यक्षको भान्जी सानैदेखिका साथी हुन्। दसैंको टिकाको दिन वडाध्यक्षको भान्जीले नयाँ मोबाइलमा टिकटक आइडी बनाइदिनका लागि बोलाएकोले किशोरी साँझ उनको घरमा गएकी थिइन्। घर छेउमै रहेको वडाध्यक्षको घरमा किशोरी पुग्दा उनको साथी थिइनन्। साथीलाई उनको कोठामा नभेटेपछि किशोरीले बोलाउन थालेको र सोही समयमा वडाध्यक्षले पछाडिबाट समाउँदै आफ्नो कोठमा लगेको जाहेरीमा उल्लेख छ।
वडाध्यक्षले कोठमा लगेर किशोरीको सहमती विपरित यौनजन्य गतिविधि गरिरहेको अवस्थामा उनको श्रीमती घरभित्र आएको आवाज सुनेलगत्तै वडाध्यक्षले किशोरीलाई छोडेको विवरण जाहेरीमा खोलिएको छ। वडाध्यक्षले जबरजस्ती यौन दुर्व्यवहार गरेको कुरा किशोरीले रुँदै सुनाएको र त्यसपछि कानुनी बाटो रोजेको अभिभावकको भनाइ छ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले वडाध्यक्षविरुद्ध कार्यालयमा किटानी जाहेरी आएको र जाहेरीलाई आधार मान्दा किशोरीमाथी जबरजस्ती करणी भएको देखिएकाले वडाध्यक्षलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिने बताए।