कालाजार संक्रमित भेटिएपछि रगत परीक्षण
धनकुटा : साँगुरीगढी गाउँपालिका-२ सिंहसरो गाउँका एक स्थानीय व्यक्तिमा कालाजारको संक्रमण भेटिएपछि गाउँपालिकाले त्यसक्षेत्रमा रगत परीक्षण शिविर सञ्चालन गरेको छ।
३५ वर्षीय इन्द्र मगरमा कालाजारको संक्रमण भेटिएपछि थप फैलिन नदिन उनका परिवारसहित आसपासका सात घरका ५५ जना व्यक्तिको रगत परीक्षण गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।
लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग उन्मूलन तथा अरू वडामा फैलन नदिन वडा र पालिकाको जनताको स्वास्थ्य सुरक्षाका लागि थप सचेतनामूलक कार्यक्रम गरिने अध्यक्ष राईले बताए।
बुधबार पालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीहरूको एक टोली सो गाउँमा पुगेको थियो। परीक्षणका क्रममा अन्य व्यक्तिमा संक्रमण नदेखिएको स्वास्थ्य शाखा प्रमुख गणेश यादवले बताए।
दिउँसो उज्यालोको समयमा लुक्ने र रातको समयमा देखा पर्ने भुसुनाले मानिसको रगत खाने भएकाले विद्युतीय धरापमा पारेर नमूना परीक्षण गर्न भुसुना संकलन समेत गरिएको छ।
संकलित भुसुना कालाजार सार्ने परजिवीबाट संक्रमित छ कि छैन भनेर परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख यादवको भनाइ छ।
कालाजार रोग लागेका बिरामीमा दुई हप्ताभन्दा लामो समय ज्वरो आउने, पेटको बायाँ भाग फुल्ने, सङ्क्रमित भई छाती दुख्ने, जिउ गल्ने, कमजोर हुँदै जाने र शरीर कालो हुने लक्षण देखिने स्वास्थ्यकर्मीको भनाइ छ।