विराटनगरमा डेंगुबाट महिला बढी संक्रमित
विराटनगर : विराटनगरमा डेंगुबाट पुरुषको तुलनामा महिला बढी संक्रमित बनेको पाइएको छ। महिला बढी संक्रमित हुनुलाई विज्ञहरूले अनौठो मानेका छन्।
विराटनगर महानगरपालिकामा हालसम्म ९० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। महानगरका अनुसार संक्रमित हुनेमध्ये ५० जना महिला र ४० जना पुरुष छन्।
तथ्यांकले महिला धेरै संक्रमित भएको पुष्टि गर्छ। विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरूले उपलब्ध गराएको विवरणका आधारमा महानगरले तथ्यांक संकलन गरेर आइतबार सार्वजनिक गरेको हो।
विज्ञका अनुसार प्रकोपका रूपमा फैलिइरहेको डेंगुबाट अन्य स्थानमा पुरुष बढी संक्रमित भइरहेको तथ्यांक छ। तर विराटनगरमा भने महिला धेरै प्रभावित बनेका हुन्।
विराटनगरको डेंगुको तथ्यांक अन्यत्रको भन्दा विपरीत र भिन्न खालको आएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. सुरेन्द्रकुमार उराँवले जानकारी दिए।
'मुलुकका अरू स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै छ। विराटनगरमा धेरै महिला हुनु अनौठो विषय हो,' उनले भने, 'विराटनगरको तथ्यांक अन्यत्रको भन्दा फरक खालको छ। गहिरो अनुसन्धान गरेर यसको कारण पत्ता लगाउन आवश्यक देखियो।'
डा. उराँवले लामखुट्टे (मच्छर)को टोकाइबाट हुने डेंगुको संक्रमणबाट महिला बढी प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको बताए।
'काम वा अन्य कुनै सिलसिलामा महिलाभन्दा पुरुष बाहिरफेरो बढी जान्छन्। हर्मोनका कारण पुरुषमा बढी लामखुट्टे आकर्षित हुन्छ,' उनले भने, 'त्यो हिसाबले पुरुष बढी संक्रमित हुनुपर्ने हो। तर महिला बढी संक्रमित हुनु एउटा नयाँ खोज एवं अनुसन्धानको विषय बनेको छ।'
उनको विचारमा घरमै सक्रिय भएका बेला लामखुट्टेको टोकाइका कारण धेरै महिलामा संक्रमण पुष्टि भएको हुनसक्छ। महानगरका अनुसार विराटनगरमा अस्थायी रूपमा बसोबास गर्नेहरू डेंगुबाट बढी संक्रमित भएको पाइएको छ।
विराटनगरमा घर नभएका र डेरामा बसोबास गरिरहेकाहरू डेंगुबाट धेरै संक्रमित भइरहेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए। यसले बाहिरफेरो धेरै आवतजावत गर्नेहरू बढी संक्रमित भएको पुष्टि हुने उनको भनाइ छ।
अलीका अनुसार विराटनगरको १, ३, ४ र ५ नम्बर वडा डेंगुका कारण सबैभन्दा बढी प्रभावित बनेका छन्। विराटनगरका १९ वटा वडामध्ये हालसम्म ६, १२, १३, १५ र १८ नम्बर वडामा डेंगुका संक्रमित भेटिएका छैनन्। अन्य १४ वटा वडा डेंगुबाट प्रभावित बनिसकेको उनले बताए।
'डेंगु नियन्त्रणका लागि सबै वडामा स्प्रे (औषधि छिर्किने) गर्नेदेखि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नेसम्मका काम भइसकेको छ,' अलीले भने, 'आवश्यक सामग्रीको व्यवस्थापन गर्दै महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामार्फत निःशुल्क जाँचको व्यवस्था मिलाइएको छ।'
साथै निःशुल्क रूपमा पारासिटामोल र जीवनजल वितरण पनि भइरहेको जानकारी उनले दिए। डेंगु नियन्त्रणका लागि प्रत्येक आइतबार बिहान १० देखि १०:३० बजेसम्म लामखुट्टेका लार्भा र प्यूपा 'खोज तथा नष्ट' (सर्च एन्ड डिस्ट्रोए) अभियान सञ्चालन गरिने अलीले बताए।
डेंगु नियन्त्रण अभियानअन्तर्गत मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले आइतबार सरोकारवाला निकायहरूसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो।
विराटनगरका विभिन्न स्वास्थ्य संस्था, क्लिनिक र ल्याब (प्रयोगशाला)हरूमा डेंगुको परीक्षण हुने गरेको प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका प्रमुख जयबेन्द्र यादवले बताए।
तर, यकिन तथ्यांक भने कसैले पनि उपलब्ध नगराउने गरेको उनको भनाइ छ। यादवले आधिकारिक तथ्यांक उपलब्ध भएमा मात्रै डेंगु नियन्त्रण सहज हुने स्पष्ट पारे।