श्रद्धा–सलाम युगपुरुष

श्रद्धा–सलाम युगपुरुष

१०३ वर्ष ५ महिनाको उमेरमा आइतबार अन्तिम सास फेरेका संस्कृतिकर्मी सत्यमोहन जोशीको परम्परागत तवरले अन्तिम संस्कार भएन। विशेष तवरको बिदाइ चाहिँ भयो। उनको राष्ट्रिय सम्मान अर्पण राज्यले नै गर्‍यो। जति वर्ष बाँचे। सक्रिय जीवनमात्रै बाँचेनन्, सक्दो समाज र राष्ट्रका लागि खटिए। राज्यले राष्ट्रिय सम्मान अर्पण गरेर नागरिक हैसियतमै राष्ट्रप्रति उनले पुर्‍याएको योगदानको कदर गर्‍यो। ठूलो ओहोदामा पुगेको भन्दा पनि उनका कीर्ति र राष्ट्रका निम्ति गरेको योगदानको कदर हो, त्यो सम्मान।

बाँचुन्जेल त समाज र देशका लागि आफ्नो ऊर्जा खर्चेकै थिए। बितेपछि पनि उनको भौतिक शरीरसमेत समाजकै लागि अर्पण गरेर छुट्टै शत्मार्ग जोशीले देखाएर गए। त्यसैले परम्परागत तवरबाट उनको दाहसंस्कार भएन। शरीर अस्पताललाई जिम्मा लगाइयो। उनी आफैंले पार्थिव शरीर दान गर्ने इच्छा जो देखाएका थिए र परिवारका सदस्यको पनि त्यसमा सहमति थियो। समाज र संस्कृति अध्ययनमा जीवन अर्पण गरेका जोशीको पार्थिव शरीर आफैंमा चिकित्सा विज्ञानका विद्यार्थीका लागि अध्ययन सामग्री बनेको छ। धर्म र परम्परामा विश्वास हुनेहरू आफ्नो अन्तिम संस्कार पारम्परिक हिसाबले होस् भन्ने चाहन्छन्। तर हाम्रो समाजमा मृत शरीर अर्काको काम आओस्, जलेर खरानी नहोस् भन्ने विश्वास गर्न धेरै गाह्रो छ। त्यो साहस सत्यमोहनले गरे। अरूहरूलाई पनि बाटो देखाए।

१०३ वर्षको आयु बाँच्नु आफैंमा कीर्तिमानी हो। तर सत्यमोहन जोशीलाई कीर्तिमानी बनाउने उनको उमेरभन्दा धेरै उनका कीर्ति र राष्ट्रलाई गरेका देनहरू हुन्। उनले नगरेका पनि के थिएनन् र ? देशका कुनाकन्दरा चहारेर संस्कृति केस्राकेस्रा केलाएका उनले नेपाली समाजको सुगन्ध प्रकाशमा ल्याए। दुर्गम कर्णालीका संस्कृतिका ज्ञाता थिए उनी। काठमाडौं खाल्डोका संस्कृति र सभ्यताको त उनका अथाह ज्ञान थियो। नेपाली समाजका प्रमुख धर्म हिन्दू र बौद्धका अन्तरसम्बन्धमा विशद ज्ञान राख्थे। मुलुकमै पहिलोपटक पुरातत्त्व विभाग खडा हुँदा पहिलो डाइरेक्टरको नियुक्ति पाएका उनले त्यसअघि नै २०१३ सालमा हाम्रो लोकसंस्कृति पुस्तक लेख्न भ्याएका थिए। त्यसैमा उनलाई मदन पुरस्कार पनि प्राप्त भयो। नेपाली साहित्यमा गरिमामय यो पुरस्कार तीनपटक पाउने स्रष्टा पनि उनै थिए। 

चीन तिब्बतमा नेपाली युवा अरनिकोको योगदानलाई खोज अनुसन्धान गरी बाहिर ल्याउने जोशी नै थिए। मुद्राको अध्ययनमा उनको लगाव थियो। राजसंस्थाका सदस्यहरूबाहेक जीवितै छँदा हुलाक टिकटमा छापिने सौभाग्य उनलाई प्राप्त भयो। मुद्रामा पनि उनी अंकित भए। तीन÷तीन वटा पुस्तकमा मदन पुरस्कार प्राप्त गर्ने जोशीका अधिकांश कीर्ति अध्ययन र अनुसन्धानमा आधारित रहे। नेपाली लेखन र इतिहासको खोज, अनुसन्धानमा प्रामाणिकतामा जोड दिने एक अगुवा हुन् जोशी। इतिहास प्रायः किंवदन्ती र पुराकथाका जस्ता हुने बेला पनि जोशीले प्रमाणहरू जुटाउन ख्याल पुर्‍याए। तथ्य र तथ्यांकलाई जोड दिने त्यस्तो पश्चिमा शैली नेपालमा भित्त्याउनेमध्येका एक हुन् उनी। 

नेपालको इतिहास लेखनमा थुप्रै विदेशीले पनि योगदान गरेका छन्। तर तिनीहरूभन्दा सत्यमोहनको फरक विशिष्टता के भने उनले लेखनको माध्यम भाषा नेपाली रोजे। सन्दर्भ सामग्री पनि नेपालीलाई नै बनाए। फलस्वरूप नेपालीले आफ्नै भाषामा तथ्यपरक ऐतिहासिक सामग्रीको अध्ययन गर्न पाए। मुख्यतः नेपाली मौलिक संस्कृतिको पहिचानलाई उजागर गर्नु, त्यसलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याउनु र ल्याउन प्रेरित गर्न सत्यमोहनको योगदान रह्यो। सरल जीवनशैली बाँच्दै लोभलाग्दो उमेर व्यतित गरेका उनको जीवन वास्तवमै सिर्जनशीलमात्रै नभई बहुआयामिक थियो।

साहित्य, कला, संस्कृति, इतिहास, भूगोल, मूर्तिकला, पुरातत्त्व, शिक्षालगायत विषयमा दक्खल राख्नु र त्यही ज्ञानका आधारमा समाजलाई मार्गदर्शन गर्नु सत्यमोहनको वैशिष्ट थियो। जो, नेपाली समाजले सयौं वर्षसम्म पनि सम्झिरहने एक युगपुरुष थिए। एउटै जीवनमा पनि अनेक विधामा नेपाली समाजलाई गुन लगाएका व्यक्तित्व निधनले नेपाली समाजमा ठूलो रिक्तता खडा गरेको छ। एक युगको अन्त्य भएको छ। तिनै विराट व्यक्तित्वलाई हार्दिक श्रद्धाञ्जली।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.