विदेशबाट फर्किएकाको सीप प्रमाणीकरण गरिँदै
विराटनगर: मोरङमा वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क संकलन र सीप प्रमाणीकरण हुने भएको छ ।
अन्तराष्ट्रिय श्रम संगठनको पहलमा वैदेशिक रोजगारीबाट फर्किएकाको सामाजिक तथा आर्थिक पुनःएकीकरण गर्न ‘वेलकम होम’ परियोजना सञ्चालन हुने भएको हो ।
प्रदेश १ को मोरङ, सुनसरी र झापामा यो परियोजना सञ्चालन हुनेछ । वेलकम होम आप्रवासी कामदारको आर्थिक पुनःएकीकरणमा सहजीकरण गर्न यूरोपेली संघको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिलले व्यवस्थित र अन्तराष्ट्रिय श्रम संगठनले कार्यन्वयनमा ल्याएको परियोजना हो ।
सोमबार विराटनगरमा कथा नेपालले आयोजना गरेको अन्तर्क्रियामा परियोजना बारे जानकारी दिईएको हो । विदेशबाट फर्किएर आएका युवाहरुले भोगेका समस्या, उनीहरुको व्यवस्थापन गर्न राज्यले बनाएको नीति र सञ्चालन हुन गईरहेको श्रम संगठनको परियोजना लगायतका विषयमा अन्तर्क्रियामा छलफल भएको छ ।
कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक ताराप्रसाद बखरियाले काम र कमाईमा ढुक्क बनाउन संगठनले स्थानीय तहसँग नजिक रहेर काम गरिरहेको बताए । उद्यमशीलता प्रर्वद्धनको लक्ष्यसहित श्रम संगठनले आफ्नो परियोजना अगाडि बढाउने तयारी गरेको बखरियाको भनाइ छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाको सीप परीक्षण तथा प्रमाणीकरण गराई बजारको माग र व्यक्तिगत क्षमता अनुरुप रोजगारीको व्यवस्था गर्ने परियोजनाको उद्देश्य छ ।
परियोजनाले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको आधारमा व्यक्तिलाई उद्यमी बनाउन खोजेको बताइएको छ । परियोजनाले पर्यटनको क्षेत्रलाई पनि समेटने भएकाले पर्यटन पूर्वाधार निमार्णमा संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले बताए ।