मंसिरदेखि मेलम्चीको पानी
काठमाडौं : सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी १ महिनाभित्रमा काठमाडौंमा वितरण हुने भएको छ। वर्षाका कारण बन्द गरिएको पानी अस्थायी संरचनाबाट पथान्तरण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक कमल श्रेष्ठले जानकारी दिए।
बाढीको जोखिमका कारण जेठ दोस्रो सातापछि आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको थियो। गत सातासम्म मेलम्चीमा सफा पानी प्रवाह हुन सकेको थिएन। विस्तारै पानी सफा हुने क्रम बढेको र बहावको बेग पनि सामान्य बन्दै गइरहेको उनको भनाइ छ। ‘त्यसैले चाँडै नै मेलम्चीको पानी काठमाडौंमा ल्याउछौं,’ उनले भने।
मेलम्चीमा बाढी आउँदा सय क्युबिक मिटर प्रतिसेकेन्ड बढी बेगमा लेदो पानी बग्ने गर्दछ। अहिले करिब १५ क्युबिक मिटर प्रतिसेकेन्ड पानी बगिरहेको छ। सामान्य अवस्थामा १० क्युबिक मिटर प्रतिसेकेन्डसम्म पानी बग्ने गर्दछ।
२०७८ असार १ गते बाढी आएपछि आयोजना ९ महिनासम्म बन्द भएको थियो। मुख्य बाँध निर्माण पछि २०७७ चैत्र २० देखि अस्थायी संरचनाबाट मेलम्चीको पानी वितरण गर्न सुरु गरिएको थियो। तीन महिना नपुग्दै बाढीले क्षति पुर्याएको थियो। आयोजनाबाट प्रतिघण्टा ७ हजार २ सय घनमिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रवाह गरिरहेको थियो।
यो वर्ष भने मेलम्चीमा बाढीको असर नदेखिएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्। अहिले हेलम्बु गाउँपालिका केन्द्रबाट मुख्य बाँधस्थल अम्बाथानसम्म साढे ३ किलोमिटर पहुँचमार्ग निर्माण भइरहेको छ। अस्थायी संरचनाबाट पानी पठाउनका लागि ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान आयोजनाको छ।
२०७८ असार १ को बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रका हजारौं स्थानीय विस्थापित भए। अम्बाथानमा रहेको मुख्य बाँध पुरियो। मेलम्चीको मुख्यबाँध हेडवर्कसबाट १६ किलोमिटर माथि भेमाथाङ पर्छ। भेम्राथाङभन्दा ८ देखि ९ किलोमिटर माथि मेलम्ची मुहानसँगको सहायक नदीमा केही समय अघिदेखि हिमताल बनेको र त्यही हिमताल फुट्दा मेलम्चीमा बाढी आयो।
यसले हेडवर्क क्षेत्रको माथिल्लो भागको लगभग २० मिलियन क्युबिक मिटरको क्षरण देखाइएको थियो (अधिकांश भेमाथानको थियो)। लगभग १७ मिलियन क्युबिक मिटर लेदो संकलन भएको थियो। यसै कारण हेडवर्क १५–२५ मिटर फोहोरले तल पुरिएको छ।
आयोजनाको मुख्य ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)ले गरेको अध्ययनमा सहायक नदी पेमदानमा बाढी आउनुलाई मुख्य कारण मानिएको छ। बाढीको मुख्य कारण भने त्यहाँको कमजोर भू–बनोटलाई देखाइएको छ। ‘भू–बनोट कमजोर हुनु र २०७२ सालमा गएको भूकम्पले थप कमजोर बनाउनु नै बाढीको कारण हो,’ प्रतिवेदनमा भनिएको छ।
एडीबीकै अगुवाइमा अब मुख्यबाँधको अध्ययन हुने भएको छ। बाँध बाढी अघि ९७ प्रतिशत सम्पन्न भएको थियो। उक्त मुख्य बाँधलाई चलाउन सकिन्छ कि सकिँदैन भनेर दोस्रो फेजको अध्ययन नोभेम्बर ७ बाट सुरु हुने श्रेष्ठको भनाइ छ। अध्ययनका लागि क्यानाडियन परामर्शदाताको समूह नेपाल आउँदै छ। आवश्यक सुधार गरेर वा नयाँ संरचना थपेर अहिले भएकै इन्टेकलाई चलाउने सरकारको एजेन्डा रहेको उनले बताए।
परामर्शदाताले दिने सुझाव र विकल्पलाई हेरेर सरकार निष्कर्षमा पुग्नेछ। परामर्शदाता टालीले तीन हप्ता बृहत् अध्ययन गर्नेछन्। उनीहरूले डिसेम्बरसम्ममा सरकारलाई सुझाव पेस गर्नेछन्। यसको आधारमा नै सरकारले आगामी वर्षबाट मेलम्चीको स्थायी संरचनाको काम अघि बढाउनेछ। मेलम्ची खोलादेखि धारासम्म पानी ल्याउनका लागि ३५ वर्षमा ७० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यसमा ६० अर्ब खर्च भइसकेको र १० अर्ब दोस्रो चरणको काम सुरु गर्नका लागि विनियोजित रकम हो।
मेलम्ची आयोजनालाई दुई भागमा बाँडिएको छ। अम्बाथानदेखि सुुन्दरीजलसम्म पानी ल्याउने एउटा र अर्को सुुन्दरीजलदेखि काठमाडौंवासीको घरको धारासम्म पानी पुर्याउने। अम्बाथानदेखि २७.५ किलोमिटर सुरुङ मार्ग हुँदै सुन्दरीजलसम्म पानी ल्याउन हालसम्म ३० अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ। सुरुङ मार्गका लागि १० अर्ब ४० करोड रुपैयाँ र हेडवक्र्स बनाउन अनुमानित एक अर्ब रुपैयाँ खर्च भएको छ।