आचारसंहिता विपरित छठ घाटमा उम्मेदवारका चुनावी ब्यानर
सिमराः निर्वाचन आचारसंहिता विपरित बाराको कलैयास्थित छठ घाटमा उम्मेदवारले आफ्नो चुनावी ब्यानर लगाएका छन् ।
कलैया उपमहानगरपालिका- १ स्थित रामजानकी मन्दिर छठघाटमा उम्मेदवारले चुनावी ब्यानर लगाएका हुन् ।
निर्वाचन आचारसंहिता उलंघन गर्दै उम्मेदवारले छठघाटमा चुनावी ब्यानर लगाएपछि विरोध हुन थालेको छ । मतदातालाई प्रभावित पार्ने गरी उम्मेदवार वा दलको कार्यालयबाहेक अन्य स्थानमा फ्लेक्स, डिजिटल बोर्ड लगाउन आचारसंहिताले बन्देज लगाएको छ ।
तर, आचारसंहिता विपरित बारा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु सिंह, प्रदेशसभा ३ (१) का उम्मेदवार मुकेश साह, हाम्रो नेपाली पार्टीका प्रदेशसभा ३ (१) का उम्मेदवार शिवनाथ पटेल, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. ३ का समानुपातिक उम्मेदवार बृजकिशोर साहले आफ्नो फोटो, नाम र चुनाव चिन्हसहित छठ घाटमा ब्यानर लगाएका हुन् ।
निर्वाचन आचारसंहिता २०७९ को १३ (ड) ले उक्त कार्य गर्न नपाउने भनेको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आचारसंहिता विपरितको कार्य गर्न कसैलाई छुट नभएको भन्दै उम्मेदवारले लगाएको ब्यानरलाई तत्काल हटाइने बताए ।