गोरखा अस्पतालका डाक्टर कुट्नेलाई फरक मुद्दा

गोरखा अस्पतालका डाक्टर कुट्नेलाई फरक मुद्दा

गोरखा : गत कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गर्नेलाई प्रहरी प्रशासनले घटनाको प्रकृतिभन्दा फरक खालको शीर्षकमा मुद्दा प्रक्रिया अघि बढाएको छ। 

नेपाल चिकित्सक संघका उपाध्यक्ष अनिल बिक्रम कार्की नेतृत्वको टोली गोरखामा आई जघन्य घटनामा कमजोर मुद्दा दर्ता गरी कारबाही फितलो बनाउन खोजेको आरोप लगाएको हो।

चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध फितलो कारबाही हुने दफाको मुद्दा दर्ता भएको उनले आरोप लगाए। 

'अदालतमा दर्ता गर्ने मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रहरीले फितलो कारबाही गर्न खोज्यो', कार्कीले भने, 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ को नम्बर 'ग' मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोटपटक पुर्‍याउन नपाउने व्यवस्था छ। 

यदि त्यसो गरेमा तीन वर्षसम्म कैद वा तीनलाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यववस्था छ। तर प्रहरीले नम्बर (च) अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको छ। 

त्यसमा कसुर गर्नेलाई एक वर्षसम्म कैद वा एकलाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।' फितलो मुद्दाले दोषीको मनोबल बढाउने र निर्दोष चिकित्सकको मनोबल गिराउने काम भएको चिकित्सक संघको तर्क छ।

यस घटनालाई अविनाश पराजुली कुटिएको मात्र नभै अस्पतालमाथि आक्रमण गरिएको ठान्नुपर्ने उनको तर्क छ। 

'६ गते घटना भएको छ, एक हप्तापछि मात्र घटनास्थलको मुचुल्का तयार गरिएको छ। पीडितको घाउजाँच गरिएको छैन', चिकित्सक संघका उपाध्यक्ष कार्कीले भने, 'यो कहाँसम्मको लापरवाही हो? न्याय नपाए गोरखा जानू भन्ने चलन थियो, तर गोरखाकै डाक्टर अन्यायमा परेका छन्।' 

भवन मात्र स्तरीय भएर नहुने, सेवा दिने चिकित्सकले उच्च मनोबलले सेवा दिन सक्नुपर्ने भन्दै उनले त्यसको वातावरण अस्पताल विकास समितिले बनाउनुपर्ने बताए।

तर जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने अस्पताल प्रशासनबाट आएको जाहेरीअनुसार मुद्दा पेश गरेको बताउँछन्।
पछिल्लो समय गोरखा अस्पतालको सेवा प्रवाह सुदृढ भएकाले सेवा लिने बिरामीको संख्या बढिरहेको छ। 

चिकित्सकमाथि कुटपिटको घटनाले अस्पतालको स्थिति बिग्रिन सक्ने मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठ चिन्ता व्यक्त गर्छन्।

गोरखा नगरपालिका-९ का २८ वर्षीय समीर कुवँर, सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोनपा-३ का २६ वर्षीय प्रमोदजंग कुवँरले डाक्टर पराजुलीमाथि कुटपिट गरी भागेका थिए।

डाक्टर कुटिएपछि सेवा प्रभावित

ड्यूटीमा रहेका डाक्टरलाई ढोका थुनेर कुटपिट गरेपछि गोरखा अस्पतालको सेवा एकहप्ता यता प्रभावित बनेको छ। 

ओपीडीमा चेकजाँच गरिरहेका डाक्टरमाथि कुटपिट गरेपछि चिकित्सक अस्पतालमा नियमित रूपमा सहजै काममा फर्किएका छैनन्। 

जसका कारण अस्पतालबाट बिरामी रिफर हुने क्रम बढेको छ। कात्तिक ७ देखि १४ गतेसम्म गोरखा अस्पतालबाट ५४ जना बिरामी रिफर भएको अस्पताल स्रोतले जनाएको छ। 

चिकित्सक कुटिएपछि अस्पतालले बिरामी भर्ना र उपचारभन्दा रिफर धेरै गरेको छ। भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गरिएको थियो।

यो अवधिमा जनरल वार्डबाट रिफर तीन जना भए भने पाँच जना मात्र भर्ना भएको अस्पतालले जनाको छ। अस्पतालबाट १३ जना डिस्चार्ज भए। 

सात दिन बन्द भएर खुलेको अस्पतालमा सोमबार ओपीडी जाँच गर्नेको संख्या २४० थियो। धेरै दिन बन्द भएर खुलेकाले सोमबार बिरामीको चाप धेरै रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले बताए। 

ओपीडी टिकट १ बजेसम्म वितरण गर्ने गरिए पनि सोमबार १२ बजेसम्म मात्रै टिकट वितरण गरिएको थियो। सयभन्दा बढी बिरामी अस्पतालमा टिकट नपाएर फर्किएका थिए। 

डाक्टर कुटपिट भएको घटनामा प्रहरीले फितलो मुद्दा दर्ता गराएको थाहा पाएपछि डाक्टरहरूले केहीबेर ओपीडी बन्द गराएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.