गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनसको अपरेशन
गोरखा : सेवाको गुणस्तर वृद्धि गर्दै गएको गोरखा अस्पतालमा पहिलो पटक पाइलोनाइडल साइनस रोगको अपरेशन सेवा सुरु गरिएको छ ।
सोमबार पहिलो पटक आरुघाट गाउँपालिकाका एक बिरामीको अपरेशन गरेर यो सेवा सुरु गरिएको हो । डाक्टर माधव पौडेल, डाक्टर साजन श्रेष्ठ र डाक्टर अभिशेष श्रेष्ठले लिम्बर्ग फ्ल्याप विधिबाट पहिलो पटक पाइलोनाइडल साइनसको अपरेशन गरेका अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।
‘यो अत्यन्तै महत्वपूर्ण अपरेशन हो’, उनले भने, ‘तीनघण्टा लामो अपरेशन गरेर उहाँको उपचार भएको छ । अब यो समस्याबाट ग्रस्त भएका बिरामीहरु काठमाडौँ, चितवन, पोखरा लगायतका सहरमा जानुपर्ने बाध्यता हटेको छ ।’ पाइलोनाइडल साइनस भनेको दिसाघर सम्बन्धी समस्या हो ।
यो पुठ्ठाको पुछारको हड्डीको तलपट्टि छालाको सतहमा देखिने प्वाल, जो जुन नली मार्फत भित्र खालि भाग बनेको हुन्छ । रौँ भएका र लामो समय कुर्सीमा बसेर काम गर्नेहरु यो समस्याबाट ग्रसित हुन सक्छन ।
यस्तो समस्या भएका व्यक्तिहरुलाई त्यहाँ बारम्बार संक्रमण हुने समस्याले सताइरहछ । यो समस्या अब गोरखा अस्पतालमा नै समाधान हुने ढकालले बताए ।