बिमा अनुशासित बचत हो, यसलाई मृत्युसँग मात्रै नजोडौं

बिमा अनुशासित बचत हो, यसलाई मृत्युसँग मात्रै नजोडौं

मर्जर गरेर बलियो कम्पनी बन्ने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड छ। तर, नेपाल बिमा प्राधिकरणले जीवन बिमाको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन निर्देशन दिएपछि २ अर्ब ८ करोड रुपैयाँँ चुक्ता पुँजी रहेको सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर गर्न लागेको छ। दुवैको गरेर ४ अर्ब १८ करोड पुँजी पुग्छ। तर, अझै अपुग देखिन्छ।

मर्जरबाट पनि नपुगेको रकम हकप्रद सेयर जारी गरेर वा बोनस सेयरबाट जुटाउने योजना बनाएको छ। यसबीच कम्पनीले व्यावसायिक कारोबार सुरु गरेको पाँच वर्ष पुग्दैछ। पाँचौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेलसँग अन्नपूर्ण पोस्ट्की ममता थापाले गरेको कुराकानी। 


कम्पनीले मंसिर १ स्थापनाकोे ५ वर्ष पूरा गर्दैछ। अहिलेसम्मको उपलब्धि कस्तो रह्यो ?

पाँच वर्षअघि थुप्रै नयाँ जीवन बिमा कम्पनी आउने क्रममा रिलायन्सको पनि जन्म भयो। हामीले राम्रो टिम बनायौं। संस्थालाई फरक दृष्टिकोणले बढाउने सोचले बढियो। बजारमा टिम छनोट, कम्पनीको ब्रान्डिङ, प्रडक्टलगायतमा अगाडि आयौं। यो कम्पनीको नारा वा मुख्य उद्देश्य भनेकै जति पनि प्रडक्ट ग्राहकको आवश्यकता पूरा गर्नका लागि हो। यसैले  हामीले हरेक प्रडक्ट निकाल्दा ग्राहकसँगको सुझाव लिएर, अध्ययननै गरेर आवश्यकता अनुसारका योजना ल्याएका छौं।

हामीसँग दीर्घकालीन बचत गर्ने, रिटायरमेन्ट लाइफका लागि आवश्यक पर्ने, बच्चाका लागि र वार्षिक मनी ब्याक बिमा, म्यादी (फिर्ता नआउने टर्म) बिमा लगायतका योजना सञ्चालनमा छन्। बिमाको आवश्यकता परिपूर्ति हुने गरी योजना बनाएका छौं। ग्राहकलाई सही तरिकाबाट योजना बिक्री होस् भनेर एजेन्सी टे«निङलाई धेरै फोकस गरेर दक्ष बनाउने प्रयास गरेका छौं। संस्थालाई  फरक र अब्बल बनाउन सिस्टम बलियो बनाएका छौं।

बिमा योजनाले बजारमा प्रतिस्पर्धा गर्न कसरी सफल भएको छ ?

हामीसँग १० वटाभन्दा बढी बिमा योजना छन्। धेरै बिक्री हुनेमा बाल योजना हो। भर्खर जागिर सुरु गरेका युवालाई जोखिमसँगै बचतका लागि बचत बिमा योजना छ। यस्तै, लगानी गरेको पैसाको साढे २ गुणासम्म पाउने किसिमको योजना छ। यसमा बोनस हुँदैन तर रिटर्न मात्रै हुन्छ। नेपालमा बिमा योजनाका धेरै विविधता छैन। भारतलगायतका विकसित देशमा जस्तो इन्भेस्टमेन्ट लिंक प्लान यहाँ छैन।

अहिले बिमा बजारमा आकर्षण कस्तो छ ?
नयाँ बिमा कम्पनी आएपछि कुल संख्या पनि बढ्यो। प्रतिस्पर्धा पनि धेरै छ। यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन्। तर, सबैले व्यवसाय सुरक्षित गर्न जरुरी छ। अस्वस्थ प्रतिस्पर्धाले बजार बिगार्छ, जुन तरिकाले बिमालेख बिक्री हुनुपर्ने त्यो तरिकाले हुँदैन। यद्यपि, धेरै कम्पनीले गरेको बिमाले मुलुकभर पुगेको छ। जसले आजको दिनसम्म कुल बिमाको पहुँच ४१ प्रतिशतसम्म पुगेको छ।

हामीले बजारलाई भन्दा आम ग्राहकको आवश्यकतालाई आधार मानेर योजना ल्याएका छौं। १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। १ सय ८६ अर्बभन्दा बढी रकम दूरदराजबाट पनि आएको छ। त्यसैले बिमाको पहुँचमा थुप्रै सकारात्मक पक्ष छन्। 

कम्पनीलाई पुँजी बलियो बनाउन मर्जरमा जोड दिएसँगै तपाईंहरू पनि जुट्नु भएको छ। प्रक्रिया कहाँसम्म पुग्यो ?

दुई कम्पनी मर्जरमा जाने सहमति भएपछि डीडीए गर्ने, एक्चुअल भ्यालुएसनलगायतमा विभिन्न काम भइरहेका छन्। निर्जीवन बिमा कम्पनीको मर्जरमा सजिलो हुन्छ  किनभने यसमा एक्चुअल भ्यालुएसन चाहिँदैन, तर बिमा कम्पनीमा चाहिन्छ। जीवन बाँकीको दायित्व १५–२० वर्ष अवधिसम्मको हुन्छ। यो लामो अवधिको दायित्व कति भनेर एक्चुअल भ्यालुएसनमा समय लाग्ने देखिन्छ। यद्यपि, गत असार अन्तिम साता गरेको एमओयूअनुसार ६ महिनामा मर्जर प्रक्रिया सकाउने भन्ने थियो। यसको काम भइरहेकै छ। 

मर्जरपछि पनि ५ अर्ब चुक्ता पुँजी देखिँदैन। कसरी पुर्‍याउनु हुन्छ ?

संस्थाको आकार बढेपछि त्यसको पुँजीगत क्षमता पनि बढ्न जरुरी छ। बिमा जोखिम बहन गर्ने व्यवसाय भएकाले यसको चुक्तापुँजी बढाउन जरुरी थियो। यसमा बिमा कम्पनीको नियामक निकायले गरेको कदम सही छ। जीवन बिमा कम्पनीलाई ५ अर्ब रुपैयाँँ चुक्तापुँजी पुर्‍याउन दिएको निर्देशनअनुसार हामीले पनि मर्जरबाट पुर्‍याउन लागेका हौं।

हाल रिलायन्सको २ अर्ब १० करोड र सानिमाको  २ अर्ब ८ करोड रुपैयाँँ चुक्तापुँजी छ। दुवै गरेर ४ अर्ब १८ करोड पुग्छ। अपुग रकम हकप्रद सेयर जारी गरेर वा बोनस सेयरबाट पनि गर्न सकिन्छ। योभन्दा पनि दुवै मिल्दा शाखा सञ्जाल बढ्छ। लगानी क्षमता बढ्छ। यस्तै, मर्जरको उद्देश्य पुँजी बढाउनुको साथै सिनर्जीका लागि पनि हो। दुवै कम्पनीको राम्रा पक्ष मिलाएर सिनर्जी उत्पन्न गर्न खोजेका छौं। 

यस वर्षको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनले कम्पनीलाई कुन स्थानमा देखाएको छ ?

हामी उत्कृष्ट लाइनमा छैनौं। तर योभन्दा महत्त्वपूर्ण पक्ष हामीले ल्याएको व्यवसाय हो। हामीले अर्गानिक रूपमा व्यवसाय ल्याइरहेका छौं। सिंगल प्रिमियमको पेनिट्रेसन १० प्रतिशत छ। सिंगल प्रिमियम नवीकरण हुँदैन। आजको दिनमा हाम्रो कुल बिमालेख संख्या ५० हजारको हाराहारीमा छ। यस्तै बिमाशुल्क पहिलो प्रिमियम ३५ करोड रुपैयाँँ रहेको छ।  

बिमा भनेको अनुशासित बचत हो। यसलाई मृत्युसँग मात्रै नजोडौं। बिमा लिइसकेपछि पाँच वर्ष नपुगी छाड्दा घाटा लाग्छ। आफूले २० वर्षे बिमा गरेको हो भने यो अवधिसम्म निरन्तर तिर्दै जाँदा पछि एकैचोटी आउँछ। हरेक पटक तिर्दै जाँदा बीचमा खर्च हुँदैन।

हाम्रो सबैभन्दा राम्रो बिमितबाट बिमाको नवीकरण हुने गरेको छ। यसैले यो अर्गानिक बिजनेस हो। मासिक १३–१४ करोड रुपैयाँँको हाराहारीमा नवीकरण हुने गरेको छ। यस्तै, हामीसँग करिब २० हजार जना अभिकर्ता छन्। तर,  देशव्यापी करिब १० हजार जना जति सक्रिय छन्। १ सय २० शाखा कार्यालय छन्। ३ सय ५० जना नियमित ग्राहक छन्। हामीले लघुबिमा व्यवसाय पनि राम्रो गरिरहेका छौं। वैदेशिक रोजगार बिमा व्यवसाय पनि राम्रो फस्टाएको छ। जति व्यवसाय गरेका छौं, ती सबै बिनादबाब गरेकाले अर्गानिक, नवीकरण हुने खालका छन्। कम्पनीमा भएको कुल बिमाको ८० प्रतिशत नियमित नवीकरण हुने गरेको छ। 

बिमा बीचैमा छोड्ने (सरेन्डर) गर्नेहरूको अवस्था के छ ?
सरेन्डर गर्नेहरू छन्। तर, तुलनात्मक रूपमा अन्य कम्पनीभन्दा कम छ। किनभने ठूला रकमका बिमा व्यवसाय गर्दा सरेन्डर हुने सम्भावना बढी हुन्छ। हाम्रोमा साना अर्गानिक बिजनेस बढी भएकाले सरेन्डर गर्ने कम छन्। 

विमितले कुन अवस्थामा सरेन्डर गर्ने गरेका छन् ?

सरेन्डर दुई कारणले गर्ने गरेको देखिन्छ। कतिपय अवस्थामा ग्राहकले बिमालेख योजना नबुझी वा गलत बुझाइका कारण २–३ किस्ता प्रिमियम तिरेपछि काम नलाग्ने रैछ भनेर सरेन्डर गर्ने गरेको पनि पाइएको छ। तर, कतिपयलाई आवश्यकताले पनि सरेन्डर गर्न बाध्य बनाएको हुन सक्छ। दसैंमा धेरै सरेन्डर भएको छ। किनभने दसैं खर्चका लागि, विभिन्न व्यवसाय गर्नलगायतका विभिन्न कारणले पनि सरेन्डर गर्ने गरेको पाइएको छ।  तर, सरेन्डर गर्ने व्यक्ति र कम्पनी दुवैका लागि बेफाइदा हो।

कुनै पनि इन्स्योरेन्स कम्पनीले बिमा बेचेर लगानी भित्त्याउन कम्तीमा पाँच वर्ष कुर्नुपर्छ। पाँच वर्ष नपुगी सरेन्डर गर्नु परेमा तिरे बराबरको पैसा फिर्ता पाइँदैन। यसपछिका वर्षमा भने बोनस पनि पाइन्छ। बिमा गरेको पूरै अवधिसम्म नियमित प्रिमियम तिर्दा कम्पनीले पनि सो फन्डलाई लगानी गरेर कमाउन पाउने भएकाले अन्त्यमा राम्रो प्रतिफल लिन सकिन्छ। यसैले सरेन्डर कसैका लागि पनि हित गर्दैन। 

बिमा बजारमा देखिएको विकृतिलाई कसरी हेर्नु भएको छ ?
यो कम्पनीले बिमा कसरी बेचेको छ भन्नेमा भर पर्छ। अभिकर्तालाई सही किसिमले आवश्यक तालिम दिएर बजारमा पठाएन भने विकृति हुनसक्छ। यसैले अभिकर्ता तालिम प्राप्त, बिमितलाई बुझाउन सक्ने क्षमताका भए भनेमात्रै राम्रो व्यवसाय हुन्छ। ९० प्रतिशत व्यवसाय अभिकर्ताबाटै आउने भएकाले उनीहरूलाई सीपमूलक तालिम दिएर दक्ष बनाउन जरुरी छ। यो एकदमै राम्रो छ।

अब नियामक निकायबाट पनि अभिकर्ताका लागि छिट्टै मार्गदर्शन आउनेमा ढुक्क छु। अभिकर्तालाई लाइसेन्स दिनुअघि नियामक निकायले नै एउटा सिलेवस बनाएर तालिम दिएर, परीक्षा लिएर सिकाउने प्रणाली आउनुपर्छ। सायद भोलिको दिनमा आउन सक्छ। यसो भयो भने बिमामा धेरै सुधार हुन्छ। अभिकर्ता भनेको एउटा वित्तीय परामर्शदाता पनि हुन्।  

आम सर्वसाधारणको बिमाप्रतिको बुझाइलाई कसरी हेर्नु भएको छ ?
बिमा भनेको अनुशासित बचत हो। यसलाई मृत्युसँग मात्रै नजोडौं। बिमा लिइसकेपछि पाँच वर्ष नपुगी छाड्दा घाटा लाग्छ। आफूले २० वर्षे बिमा गरेको हो भने यो अवधिसम्म निरन्तर तिर्दै जाँदा पछि एकैचोटी आउँछ। हरेक पटक तिर्दै जाँदा बीचमा खर्च हुँदैन। सोही पैसा अरूमा बचत गर्दा पनि खर्च गरिरहिन्छ। यससँगै बिमाले रक्षावरण गर्छ। बैंकमा १ लाख रुपैयाँ राखेर कोहीको मृत्यु भए सोही १ लाख मात्रै आउँछ। तर, सोही रकम बिमा गर्दा २० लाख रुपैयाँँसम्म आउँछ। बैंक र बिमा कम्पनीमा राखेको पैसालाई उस्तै भनेर तुलना गर्नु गलत हो।    

कम्पनीले कुन क्षेत्रमा बढी केन्द्रित भएर लगानी गरेको छ ?

हामीले सर्वसाधारणको पैसा लगानी गर्ने हो। यसलाई हामीले जथाभावी गर्न मिल्दैन। नेपाल बिमा प्राधिकरणले लगानीको सीमा तोकेको छ। सोहीअनुसार हामीले सरकारी बोन्डमा ५ प्रतिशत, रियल स्टेटमा ५ प्रतिशत, स्टकमा ३ प्रतिशत, म्युच्युअल फन्डमा ५ प्रतिशत, डिबेन्चरमा २० प्रतिशत लगानी गर्न सक्छौं। यसपछि वाणिज्य बैंकमा अधिकतम् ४० प्रतिशत र विकास बैंकमा २० प्रतिशत, वित्त कम्पनीमा १० प्रतिशत मुद्दती निक्षेपमा लगानी गर्न पाइन्छ। यस्तो एग्रो तथा पर्यटनमा २० प्रतिशत र जलविद्युत्मा २० प्रतिशत लगानी गर्न पाइन्छ।

हामीले सेती हाइड्रोपावरमा प्रत्यक्ष लगानी पनि गरेका छौं। साथै, हाम्रो अधिकांश लगानी बैंकको मुद्दती निक्षेपमा छ। किनभने जनताको पैसा भएकाले यो सुरक्षित लगानी हो। यद्यपि, अन्य मुलुकको जस्तो नेपालमा कम्पनीको लगानी विविधता छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.