बैतडीमा बागी उम्मेदवारलाई भोट माग्ने कांग्रेस नेताहरु कारबाहीमा
बैतडी : नेपाली कांग्रेस बैतडीले बागी उम्मेदवारको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरुलाई धमाधम कारबाही गर्न थालेको छ।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारीको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरु कारबाहीमा परेका हुन्।
नेपाली कांग्रेसका पूर्वमहाधिवेसन प्रतिनिधि एवं दलित संघका जिल्ला अध्यक्ष रमेश कोली, पाटन नगरपालिकाका नगर सभापति मानबहादुर ऐर, पाटन नगरपालिकाका निवर्तमान उपप्रमुख नेतृ सरस्वती कोली, सिगास गाउँपालिकाका उपसभापति धनबहादुर साउँद, पाटन नगरकमिटीका सहसचिव कृष्णा पन्त र मेलौली ५ का वडा सभापति परमानन्द पन्तलाई पाँच वर्षको लागि पार्टीबाट निष्कासन गरेको हो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार र पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको विरुद्धमा गई बागी उम्मेदवारको पक्षमा भोट माग्ने र प्रचार प्रसारमा सहभागी भएको भन्दै कारबाही गरिएको नेपाली कांग्रेस बैतडीका अनुशासन समितिका संयोजक देवराज जोशीले जानकारी दिए ।
चन्द प्रतिनिधिसभातर्फका स्वतन्त्र उम्मेदवार हुन् भने भण्डारीले क्षेत्र नं (क) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । भण्डारीले नेपाली कांग्रेसले आफ्नो पक्षमा उभिएका कार्यकर्ताहरुलाई कारबाही गरे बैतडीमा कांग्रेसको झण्डा र एकदुईजना बाहेक अरु नरहने बताएका छन् ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नं (क) का पाँचवटै पालिकाका सभापति र ३६ वडा सभापतिको हस्ताक्षरसहितको सिफारिस हुँदाहुँदै वीरबहादुर बिष्टले टिकट खोसेको उनको आरोप छ। कार्यकर्ताको भावना विपरीत टिकट वितरण गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ।
प्रदेशसभा सदस्यका लागि आफ्नो जित सुनिश्चित रहेको भण्डारीले दाबी गरे।
यसैगरी चन्दले पनि नेपाली कांग्रेसको बलियो सम्भावना रहँदारहँदै पनि कमजोर संगठन भएको माओवादी केन्द्रलाई प्रतिनिधिसभाको टिकट दिएको भन्दै
आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिकृया दिए। कांग्रेस बचाउनुपर्छ भन्ने नेता तथा कार्यकर्ताहरु आफ्नो पक्षमा रहेको उनले बताए।
पार्टीको विधि, विधान र निर्देशनविरुद्ध जानेहरुलाई कारबाही हुनैपर्ने गठबन्धन पक्षधरहरुको भनाइ छ। कार्यकर्ताको भावना विपरित नेताहरुलाई टिकट दिएपछि आफूहरु स्वतन्त्र उम्मेदवारको पक्षमा लागेको ती नेताहरुको भनाइ छ।
बैतडीमा लोकतान्त्रिक बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नरेन्द्र कुवँर विजयसुन्दर उम्मेदवार बनेका छन्। प्रदेशसभा (क) मा कांग्रेसकै वीरबहादुर बिष्ट र (ख) मा कांग्रेसकै शिवराज भट्टले उम्मेदवारी दिएका छन्।