समाज रूपान्तरणका लागि नाट्य महोत्सव

समाज रूपान्तरणका लागि नाट्य महोत्सव

मण्डला थिएटरको आयोजनामा मंसिर ९ देखि १७ गतेसम्म दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ हुँदै छ। महोत्सवमा १४ देशका २१ वटा नाटक मञ्चन हुने भएका छन्। महोत्सवको तयारी के–कस्तो छ भन्ने विषयमा मण्डलाकी अध्यक्ष तथा महोत्सवकी संयोजक/निर्देशक सिर्जना सुब्बासँग अन्नपूर्ण पोस्ट्का इन्द्र चौधरीले गरेको कुराकानी :

महोत्सव आउन मात्र १३ दिन बाँकी छ तयारी कहाँसम्म पुग्यो ? 

बाहिरबाट आउने नाटक र ती टिम कुन दिन कसरी आउने, उनीहरूको नाटक कहिले मञ्चन हुने, एक दिनमा कति सो राख्ने भन्ने कार्यतालिका फाइनल भइसकेको छ। बाँकी भनेको हामी पनि फेस्टिभलको अन्तिम (क्लोजिङ) मा आफ्नै नाटक देखाउने तयारीमा छौं। त्यसको रिहर्सल भइरहेको छ। सबै डिपार्ट आ–आफ्नो काममा निकै व्यस्त छौं। 

महोत्सवमा कस्ता खालका नाटकहरू मञ्चन हुँदैछन्। यसको थिम के हो ? 

महोत्सवको नारा ‘सामाजिक रूपान्तरणको लागि रंगमञ्च : विविधताको उत्सव’ भन्ने छ। यही थिममा आधारित नाटकलाई स्थान दिँदैछौं। यसको अर्थ विश्वभरिबाट नाटकहरू एकै ठाउँमा आउनु भनेकै एक प्रकारको उत्सव हो। समाज रूपान्तरणमा केही न केही भूमिका खेल्छ भनेर सामाजिक, सांस्कृतिक थिम बोकेका नाटक मञ्चन हुनेछन्। अर्को कुरा, रंगमञ्च भर्खरै कोभिडबाट तंग्रिँदै गरेको अवस्था छ। थिएटर गर्न अर्को छुट्टै ऊर्जा पनि होस् भन्ने हिसाबले पनि हामी यो महोत्सव गर्दैछौं। 

पहिलो महोत्सव संयुक्त आयोजनामा भएको थियो तर अहिले मण्डला एक्लै किन ? 

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुनुभन्दा धेरै पहिले पनि मण्डलाले यस्तो खालको महोत्सव आयोजना गरिसकेको छ। त्यतिखेर पनि मण्डला एक्लैले नै गरेको थियो। सधैंभरि धेरै ठूलो टिमसँग काम गर्न सकिँदैन। कोभिडले भर्खरै तंग्रिएको अवस्थामा अन्य थिएटरहरूसँग सल्लाह गर्दा महोत्सव गर्नका लागि तयार नभएको प्रतिक्रिया दिनुभयो। त्यसपछि मण्डला एक्लैले आँटेको हो। तर, उहाँहरूको साथ र सहयोग भने रहन्छ नै।

कला क्षेत्र (रंगमञ्च) कोभिडको मारमा परेको अवस्थामा यति खर्चिलो देखिने यो महोत्सव कसरी सम्भव छ ? 

खासमा असम्भव भन्ने कुरा हुँदैन। राम्रोसँग सफल हुने नहुने केही चिन्ता त अवश्य पनि छ। तर, मण्डलासँग यसअघि पनि धेरै महोत्सव गरिसकेको अनुभव छ। पहिलेको महोत्सवबाट मण्डलाले घाटा नब्यहोरेको पनि होइन। 
तर, कहिलेसम्म डराएर बस्ने भनेर यो महोत्सवको आयोजना गर्दैछौं। त्यसैले यस्तो कुरामा सबैभन्दा ठूलो कुरा आँट नै हो। वास्तवमा हाम्रो साझेदारी संस्था जीआईजेड छ। उक्त संस्थाले सम्पूर्ण बजेट (खर्च)को ४० प्रतिशत बजेट हामी बेहोर्न तयार छौं भनेपछि यो सम्भव भएको हो। 

यो महोत्सवबाट के सन्देश दिन खोजिएको हो ? 

आर्टको दायरा धेरै फराकिलो छ। यसबाट समाजले ठ्याक्कै यही कुरा नै पाउँछ भन्ने हुँदैन। बरु समाजले चाहिँ यसबाट के लिन्छ त्यो मुख्य कुरा हो। महोत्सवमा नेपालको नाटक मात्र नभएर विश्वका १४ ओटा देशबाट २१ ओटा नाटक आउँदैछन्। यसबाट के भन्न सकिन्छ भने नेपाली थिएटर वा दर्शकलाई विदेशका कला, संस्कृतिलाई ती देशमै गएर बुझ्न धेरै समय लाग्न सक्छ। तर, महोत्सवमा ती सबै देशको कला, संस्कृतिबारे एउटै महोत्सवबाट थाहा पाउन सक्छ। त्यसैले यो नेपाली थिएटर र समाजका लागि निकै उपयोगी हो जस्तो लाग्छ  ।

राज्यको महोत्सवप्रतिको नजर कस्तो छ ? 
राज्यले कला क्षेत्र (विशेषगरी रंगमञ्च)प्रति खासै चासो दिएको छैन। महानगरलगायत विभिन्न निकायलाई सहयोगका लागि अपिल गरेका छौंं। तर, विगतका अभ्यास हेर्दा सहयोग पाउँछौं वा पाउँदैनौं टुंगो छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.