‘भोट बैंक’मा सीमित समुदाय
जब जब चुनाव आउँछ, तब तब दलका नेताहरू गाउँबस्तीभित्र छिर्छन्। जहाँ जेभन्दा जो खुसी हुन्छन् भन्ने लाग्छ, त्यस्तै त्यस्तै आश्वासन बाँड्छन्। जस्तो कि भूमिहीन सुकुम्बासी बस्तीमा पसेर लालपुर्जाको आशा देखाइदिन्छन्। खानेपानी नभएको गाउँमा पानी ल्याइदिने वाचा गर्छन्। मोटर नपुगेको ठाउँमा सडक बनाउने कसम खान्छन्। खोलामा पुल हाल्नेदेखि लिएर सिँचाइ र बिजुली बत्तीसम्मका आश्वासन उम्मेदवारका मुखमै झुन्डिएका हुन्छन्। शिक्षा, स्वास्थ्य र रोजगारी पनि उनीहरू छुटाउँदैनन्। त्यस्तै आश्वासनकै भरमा चुनाव जितेपछि भने उनीहरू फर्केर जाँदैनन्। हुन पनि एउटा सांसद वा नेताले चाहेर न कसैले लालपुर्जा बाँड्न सक्छ न कसैलाई रोजगारी दिलाउन सक्छ। भूमिहीन सुकुम्बासीको समाधानका लागि सरकारले केन्द्रस्तरबाटै कदम चाल्नुपर्छ।
नेपालका धेरै कुना कन्दराहरूका बासिन्दा सधैं भोट बैंक बन्न बाध्य छन्। जहाँ अभाव छ, त्यही ठाउँ र समुदायलाई नेता र उम्मेदवारहरूले आश्वासन बाँड्छन्। सधैं कुनै न कुनै आस देखाउँछन् अनि भोट माग्छन्। जिते वा हारेपछि उनीहरूलाई त्यहाँका बासिन्दाको कुनै मतलब हुँदैन। जस्तो कि रूपन्देहीको मर्चवार क्षेत्र एउटा उदाहरण हो। राज्यबाट उपेक्षित यो सीमा भूगोल हो। भारतीय साँधको यो बस्तीले पारि भारतमा जे जस्तो सेवा र सुविधा देख्छ, स्वदेशमा त्यो पाउँदैन। वारिपारि रोटीबेटीको साइनो छ। त्यसैले दुईतिरका बासिन्दा संस्कृतिले पनि बाँधिएका छन्। नातापाताले जोडिएका छन्।
छुट्ट्याएको केवल देशको भूगोलले अनि दुई देशका दुईथरी सेवा सुविधाले हो। सुविधाहरूमा नेपाल राज्यको नजरले यो ठाउँ भेटेको छैन। मर्चवारमा सिँचाइको समस्या छ। किसानले भनेका बेला मल पाउँदैनन्। सीमा भूगोलको पीडा बेग्लै छ। खरखाँचो टार्न भारतीय बजारकै भर पर्नुपर्छ। तर लुछीछिपी आउँदाजाँदा भारतीय प्रहरीबाट प्रताडित भइरहनुपर्छ। स्वदेशमा रोजगारीको मौका छैन। मजदुरी गर्न पनि भारतमै जानुपर्छ। नेपालबाट आएको भन्नेबित्तिकै श्रमशोषण भइहाल्छ। नेपाली हुनु हैसियत केवल मर्चवारवासीसँग नागरिकता छ। नेपाली माटोमै जन्मिए, हुर्किए, बसोबास छ। तर राज्यका सुविधा र सेवाबाट सधैं बञ्चित छ। पाँच वर्षमा एक पटक चुनाव आउँछ र आउँछन् नेताहरू पनि। त्यही बेला पीडा पोख्छन्।
तर, जसै चुनाव सकिन्छ, कोही फर्केर जाँदैनन्। तिनका समस्या ज्यूँका त्यूँ रहन्छन्। यो वर्षाैंदेखिको पीडा हो। निर्वाचनमा मात्रै जनताका समस्या देख्ने र सम्बोधनको आस देखाउन राजनीतिकै कारण मर्चवारवासी पीडित हुनु परेको हो। मर्चवारवासी नेताका लागि केवल भोट भएका छन्, उनीहरूका लागि नेता केही न केही। तर, नागरिक भनेको एक थान मतदाता वा एक भोटमात्रै होइन। राजनीति भनेकै जनतामा केन्द्रित हुनुपर्छ। जनताको सेवामा केन्द्रित हुनुपर्छ। तर, सत्तामा पुग्ने र आफ्नै दुनो सोझ्याउने माध्यम जो राजनीति भइरहेको छ। राजनीति केवल चुनावदेखि चुनावसम्म फनफनी घुमेको छ। राजनीतिले न सीमान्त भूगोलका समस्या सल्टाउन सकेको छ न त अरू कुनै नागरिकको जनजीविकाको सवाल। त्यसैले नै राजनीतिप्रति नागरिकहरूको वितृष्णाको ग्राफ उकालिएको छ।
मर्चवार समथर भूमि हो। जहाँ सडक निर्माण गर्न पहाडमा जस्तो, हिमालमा जस्तो कठिन हुँदैन। तै यो भूमिमा गतिलो सडक छैन। विद्यालयमा विद्यार्थीको पहुँच छैन। भर्ना भएका विद्यार्थीको निरन्तरता छैन। स्वास्थ्य सेवा भरपर्दाे छैन। यो ठाउँबाट निर्वाचन जितेकाहरू पहुँचवाला नै हुन्, जो पटकपटक मन्त्री पनि भइसकेका छन्। तर, मर्चवारले केही पाएन। मर्चवारवासीको जीवनस्तर उस्केन। यो केवल भोट बैंक भइरह्यो। नेताहरूले जनतालाई एक भोटमात्रै ठान्ने रवैयाको अन्त्य जरुरी छ।