दक्ष जनशक्ति अभावमा असुरक्षित गर्भपतन बढ्यो
काठमाडौंः नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षितरुपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
मधेश प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ । यस्तै, गर्भपन गराउँदा भारतबाट नेपालमा दर्ता नभएका औषधिहरुको समेत प्रयोग गरेको पाइएको छ। अधिकारीहरुका अनुसार मधेश प्रदेशमा १२ हप्ता माथिको गर्भपतन गराउने दक्ष जनशक्ति २ जना मात्रै छन् ।
मधेश प्रदेशको जनकपुरमा ‘गर्भपतनको स्वास्थ्य मापदण्ड र यसको गलत प्रयोग' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले असुरक्षित गर्भपतन गराउनेहरु बढ्दो क्रममा रहेको भन्दै यसलाई निरुत्साहित बनाउन सबै लाग्नु पर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गर्भपतन गराउनेमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएको छ । मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विजय यादवले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न एक्लै सम्भावना नरहेको बताए ।
उनले सबै निकायले यसमा साथ दिनुपर्ने पनि बताए । उनले यसका लागि प्रदेशले छुट्टै निर्देशिका बनाउन थालेको स्पष्ट पारे । प्रदेशमा दक्ष जनशक्तिको अभावले पनि सुरक्षित गर्भपतन हुन नसकेको उनको तर्क छ । अनुगमनको पाटो तिब्र बनाउनु पर्ने देखिएको उनले बताए ।
मधेश प्रदेशमा ७ हजार ५ सय १३ जनाले यस वर्ष सुरक्षित गर्भपतन गराएका छन् । तर, यो संख्या अत्यन्तै न्युन भएको अधिकारीहरुले बताएका छन् । सहभागीहरुले भनेका छन्, मधेश प्रदेशमा सुचिकरण नभएका स्वास्थ्य सस्थाबाट सेवा र नेपालमा दर्ता नभएका औषधि व्यापक प्रयोग भइरहेको छ । प्रदेशका पत्रकारहरुलले भनेका छन् कुन कुन स्वास्थ्य सस्थाबाट मात्रै गर्भपतन गराउने भन्ने जानकारी आम नागरिकलाई दिन जरुरी देखिएको छ ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक रामनरेश पण्डितले प्रसूति गराउने दक्ष जनशक्तिको अभावले असुरक्षित गर्भपतन बढेको देखिन्छ , ‘प्रदेशमा दर्ता बिनाका स्वास्थ्य संस्थाको कारबाही सुरु गर्दा सेवा नै ठप्प हुने अवस्था आउन सक्छ डा पण्डितले भने, ‘यसलाई कडाइका साथ कानुनी दायरामा ल्याउँदै जानुपर्छ ।’