विकास निर्माणका क्षेत्रमा जनअपेक्षाअनुसार काम गर्छु: गिरिराजमणि पोखरेल

विकास निर्माणका क्षेत्रमा जनअपेक्षाअनुसार काम गर्छु: गिरिराजमणि पोखरेल

महोत्तरीमा चुनावी सरगर्मी बढेको छ । महोत्तरी १ मा सत्ता गठबन्धनबाट नेकपा मा‌ओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल उम्मेदवार छन् । उनले विगतमा आफूले ल्याएर योजनालाई सफल बनाउन तथा जनताका पक्षमा काम गर्न फेरि आफ्नै जित हुने दावी उनको छ । 

पोखरेलको विगतको कामको समीक्षासँगै जिल्लामा माओवादी कमजोर भइरहेका बेला पोखरेलको उपस्थिति कस्तो हुन्छ भन्ने विषयमा अन्नपूर्णकर्मी धनवीर महतोले गरेको कुराकानीको सम्पादित अंश:
 

तपाइँलाई भोट किन दिने ?
यो क्षेत्रको विकासका लागि नै मलाई भोट मागिरहेको छु । जनतासँग पनि यही प्रतिबद्धता गरिरहेको छु । यहाँको शिक्षा र स्वास्थ्य विकासमा मेरो योगदान हुनेछ । स्वास्थ्य र शिक्षाको पहुँचबाट कोही पनि छुट्न नपरोस् भन्ने लक्ष्यसहित म काम गर्नेछु । विगतमा पनि गरेको छु । जनताका धेरै अपेक्षा छन् । विकास निर्माणका काममा म जनअपेक्षा अनुसार काम गर्छु ।

ठूला विकासका परियोजनासहित महोत्तरीलाई समृद्ध बनाउने गरी म काम गर्छु । यसरी महोत्तरीको समग्र विकास र महोत्तरीबासीको क्षमता विकासका क्षेत्रमा मेरो ध्यान जानेछ ।

म चौथौपटक यो क्षेत्रको विकास गर्ने उद्देश्यसहित उम्मेदवार बनेको छु । मैले दुई पटकको जनमत संविधान निर्माणमा खर्च गरेँ । त्यस समयमा भूकम्प, मधेस आन्दोलनलगायतले विकासका क्षेत्रमा सोचे जस्तो काम भएन । त्यतिबेला सोचेका कामलाई पूर्णता दिन यसपटक जनताले मत दिनुहुन्छ भन्ने विश्वस्त छु ।

यही समयमा मैले शिक्षामन्त्री भएर काम गरेँ ।  त्यतिबेला देशकै गौरवको रुपमा परिचित रहेको बर्दिवास मेडिकल कलेजको प्रक्रियाको शुभारम्भ भयो । देशमै एकमात्र गौरवको विषय गौशाला आयुर्वेदिक शिक्षालय र रेल्वे ईन्जिनियर पढाईका लागि गौशालामा ईन्जिनियरिंग कलेजमा पठनपाठनको योजना अघि बढेको छ । निगौल गाई गौशालामा गाईको अनुसन्धान र पशु तथा कृषि शिक्षाको लागि नगरपालिकाको समन्वयनमा चितवनको रामपुर कलेजको आंगिक कलेजको रुपमा पठनपाठन गराउने प्रक्रिया अन्तिम चरणमा छन् । सँगै यस क्षेत्रमा अरु धेरै विकासका योजना छन् । यी सफल पार्न जनताले मलाई मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।

बिगतमा गठबन्धनसहित पार्टी एकीकरण गर्दा पनि जुट्न नसक्नुभएका तपाइँहरूले अहिलेको गठबन्धनलाई कति टिकाउनुहुन्छ?
हामी ५ दलीय गठबन्धन मिलेर चुनावी प्रतिस्पर्धामा छौँ । सिट बाँडफाँड गरेर देशभर चुनावी प्रतिस्पर्धामा छौँ । यो गठबन्धनकै आधारमा देशले बहुमतको सरकार पाउनेछ । यसमा कुनै संकोच छैन । यो राजनीतिक संस्कार हो, जहाँ आवश्यकताअनुसार परिवर्तन हुनुपर्छ । अहिले देशलाई विकासको माध्यमले निकास दिन गठबन्धन आवश्यक हो । 

अर्को ०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी एकताले तत्कालिन समयमा केपी शर्मा ओलीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार बन्यो । तत्पश्चात नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) नामक पार्टी गठन भयो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सो पार्टीले तत्कालिन समयमै देशका लागि बहुप्रतिक्षीत एवम् दीर्घकालिन योजना जनतासमक्ष पस्किन पाएका थियौ । 

समयको क्रमसँगै केपी ओली गुटकै कारण एकीकृत भएको पार्टी पूर्ववत रुपमा फर्किनुपर्यो । हामीले ल्याएका योजना पनि बीचमै अड्किए । त्यो छोटो समयको गठबन्धन भयो । यो गठबन्धन त्यस्तो हुँदैन । यसको आयु भने लामो नै रहनेछ । अहिले देशको मुहार परिर्वतन गर्नका लागि सतारुढ गठबन्धनको अति नै आवश्यक छ । 

धेरैले माओवादी पार्टी नै छाडे, त्यसमा पनि स्थानीय तह निर्वाचनमा माओवादीको मत खासै उल्लेख गर्न योग्य छैन । यस्तो अवस्थामा तपाइँको जित्ने आधार के ?

हामी सतारुढ दलका ५ दलीय गठबन्धन भएपछि बलियो छौँ । हाम्रा गठबन्धनले देशभर भारी बहुमत प्राप्त गर्नेछ । कुरा रह्यो पार्टी परित्याग गरेका व्यक्तिहरुको सन्दर्भमा । त्यतिबेला नेकपा कायम रहेको समयमा अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गरेपछि केही नेताहरु पार्टी छाडेर गएका छन् । तर उहाँहरु जति स्पीडमा पार्टी प्रवेश गर्नुभयो, त्यति नै स्पीडमा पार्टीबाट फर्किदै हुनुहुन्छ । 

नेपाली राजनीति शब्दमा भन्नुपर्दा उहाँहरु फाँसीवादको चपेटामा फसेको अनुभव गर्दैछ । वाक्क भएर फर्किंदैछ । महोत्तरीका टेकबहादुर वलम्पाकी माओवादीमै फर्किए भने रौतहटका प्रभु साह अहिले एमाले परित्याग गरी स्वतन्त्रबाट चुनावमा उत्रिएका छन् । 

अर्को कुरा स्थानीय निर्वाचन र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबीचमा धेरै फरक छ । त्यस चुनावमा जनताले स्थानीय मुद्दा सम्बोधन गराउनमा तत्लिन रहन्छन् भने यस निर्वाचनमा राष्ट्रिय एवम् दीर्घकालका मुद्दा सम्बोधन गराउन चाहन्छन् । दक्ष, अनुभवी, प्रखरवक्ता अनि जुझारु नेतालाई यस निर्वाचनमा आमनागरिकले रुचाएका हुन्छ । अहिलेको मतदाताले हरेक विषयवस्तुलाई मनन गर्दै अगाडी बढेका हुन्छ । त्यसैले स्थानीय निर्वाचनमा जे जति कारणले उम्मेदवार पराजय हुनुभयो । मैले ती चुनावमा भएका कमी कमजोरीलाई सच्याउने कोशिस पनि गरेको छु । त्यसकारण चुनावमा विजयी हुने लगभग निश्चिय नै छ । 

म जोडका साथ के भन्छु भने विकासप्रेमी, संसदमा आफनो क्षेत्रको लागि आवाज उठाउन सतारुढ गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यक छ । अहिलेको परिस्थितिमा आममतदाताले निष्पक्ष, निडर, सोच विचार गरेर मतदान गर्न आग्रह गर्छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.