आम निर्वाचन : झापाका सीमा नाका सुनसान (फोटोफिचर)
झापा : झापाको काँकडभिट्टा र भद्रपुर सीमा नाका सुनसान बनेको छ। जिल्ला प्रशासन कार्यालय झापाले भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर १ गते राति १२ बजेदेखि सीमा नाका बन्द गरेको हो।
सीमा नाका बन्द भएपछि सधैँ व्यस्त रहने काँकडभिट्टा र भद्रपुर नाका सुनसान छ। साथै जिल्ला अन्य साना नाकाहरूबाट पनि आउजाउ ठप्प छ।
विशेषगरी शुक्रबार र शनिबार काँकडभिट्टा र भद्रपुरबाट बिरामी, अति आवश्यक काम प्रयोजन, स्वदेश फर्किने नेपाली नागरिक र भारत फर्किनेलाई परिचयपत्रका आधारमा आउजाउ गर्ने दिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
बिरामीबाहेक भोलि मतदानका दिन कसैलाई पनि प्रवेश गर्न नदिने र त्यसका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय भइसकेको उनले बताए।
उता भारतीय एसएसबीले पनि सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ। एसएसबीले कसैलाई पनि चोरी निकासीको बाटो भएर प्रवेश गर्न दिएको छैन।
सीमा नाका बन्द भएपनि काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ बोकेका टंयाकरबाहेक अन्य कुनै सवारीसाधन नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।