भोट र भोकको तितो फरक

भोट र भोकको तितो फरक

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज महत्त्वपूर्ण दिन हो। निर्वाचनको मुख्य काम नै मतदान हो, जुन आज हुँदैछ। देशको भविष्यको निर्धारण गर्ने दिन हो मतदानको दिन भनेको। मतदानबाट चुनिएका व्यक्ति नै देशको नीति नियम र सरकार निर्माणको काममा लाग्नेछन्। यही बेला थुप्रै युवा भने देशको भन्दा आफ्नै भविष्यका लागि विदेश यात्रामा लागेका छन्।

मतदानको अघिल्लो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशिने युवाको लर्काे थियो। भोटको चिन्ता पटक्कै उनीहरूमा थिएन। केवल थियो त भोकको। देशमा रोजगारी छैन। भोक मेटाउन अर्थात् रोजीरोटीका लागि विदेशिनुका उपाय उनीहरूसँग भएन। अझ एक युवा यस्ता पनि भेटिए जसकी श्रीमतीलाई ब्लड क्यान्सर छ र उनी उपचारका लागि खर्च जुटाउन विदेशिन बाध्य थिए। बिरामी श्रीमती र आमाबाबालाई छोडेर अनि घर परिवारका सदस्य साथै नातापाताबाट टाढा हुनु कसैको रहर किन हुन्थ्यो र ? विवशता नै त्यस्तै छ, रोजगारीका लागि विदेशिनुको विकल्प छैन।

यही चुनावमा प्रमुख दलहरूले रोजगारीको नारा खुबै दिएका छन्। तर, थुप्रैलाई विश्वास भएन कि देशमा रोजगारी सिर्जना हुन्छ। यसपालिमात्रै होइन, हरेक चुनावमा दलहरूले दिने नारामा रोजगारी छुट्दैन। तर जुनसुकै सरकार बने पनि जसले जिते पनि रोजगारी सिर्जना हुँदैन। युवाले स्वदेशमा इलम गर्ने वातावरण छैन। जागिर दिने कुनै व्यापार, व्यवसाय र उद्योग धन्दा छैन। दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत विदेशिने र वैदेशिक रोजगारीमा जानेहरू हजारभन्दा बेसी हुन्छन्। तिनको भोकले, तिनको आँसुले हाम्रा राजनीतिकर्मीलाई भने कहिल्यै छोएको छैन। वैदेशिक रोजगारीको पीडा कतिसम्म भने कोही उतै अंगभंग भए उपचारको बाटो हुँदैन। त्यतिमात्रै होइन कथं मृत्यु भइहाले सरकारले लाससम्म ल्याइदिन सक्दैन, अरु के कुरा !

दलहरूलाई, उम्मेदवारहरू र तिनका नेताहरूलाई भोटको चिन्ता छ। कसरी जितिएला भनेर उनीहरूले गर्नु नगर्नु अनेक बाचा गरेका छन्। अनेक हत्कण्ठा पनि यसबीचमा अपनाएका छन्। तर, जितिसकेपछि गर्ने के भने कसरी हुन्छ सरकारमा जाने र आफू र आफ्नाहरूलाई पोस्ने। त्यही बिडम्वनाबाट आजित नेपालीले यसपालि चुनावमा धेरै नयाँ अनुहारको पनि खोजी गरेका थिए। ठूला भनिने दलहरूले नयाँ अनुहारलाई उम्मेदवारसम्म पनि खास रूपमा बनाएनन्। आलोपालो सरकारमा जानेर राष्ट्रिय ढुकुटी बाँडीचुँडी गर्ने सिवाय केही हुन्न भन्ने नेपाली जनतालाई परिसकेको छ। तै उनीहरू चुनावमा भाग लिएर कमसल र खराबभन्दा केही न केही असल उम्मेदवार छनोट गर्न भने लालायितै छन्। 

लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो। तर निर्वाचनबाट चुनिएर सरकार गठन गर्नुमात्रै पनि पूरापूर लोकतन्त्र होइन भन्ने नेपाली जनतालाई थाहा भइसकेको छ। लोकतन्त्र भनेको उत्तरदायी शासन व्यवस्था हो। जनताको पीरमर्काको सम्बोधन गर्ने सरकारमात्रै लोकतान्त्रिक हो। जो, आफ्ना नागरिकका समस्या सम्बोधन गर्न केन्द्रित बन्छ, त्यो लोकतान्त्रिक सरकार हो। हाम्रो देशको हकमा भने सरकार चुन्ने प्रक्रियामा बाहेक जनताले वास्तविक लोकतन्त्र अनुभूत गर्न पाएका छैनन्। सरकारमा जानेहरूकै आसेपासेहरूको भलो हुने, उन्नति प्रगति हुने कुरूपतन्त्र जो मौलाएको छ। त्यसको मारमा नै युवाहरू परेका छन् र तिनले देशमा कुनै इलम गर्न पाएका छैनन्, रोजगारीको अवसर पाएका छैनन्। यस्तो दुरावस्थाको अन्त्य नभएसम्म, देशमै रोजागारी सिर्जना नभएसम्म युवाहरूको विदेश पलायन रोकिन्न। हाम्रो लोकतन्त्र पनि वास्तविक लोकतन्त्र हुन सक्दैन। आजको मतदानले जनउत्तरदायी जनप्रतिनिधिहरू चुन्न सकोस् र देशको अर्थतन्त्रमा परिवर्तन ल्याएर देशलाई समृद्धिको दिशामा अघि बढाओस्। भोटले भोकको पीडा सम्बोधन गरोस्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.