झापामा स्थगन भएका चार वटै मतदान केन्द्रमा मतदान सुचारु
झापा : झापामा स्थगन भएको चार वटै मतदान केन्द्रमा मतदान पुनः सुचारु भएको छ। झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका १४ स्थित बालसुबोधिनी मावि केन्द्रमा लफडा भएपछि मतदान रोकिएको थियो।
प्रतिनिधिसभाको मतपत्र सकिएको स्थानमा प्रदेशसभाको मतपत्र मतदातालाई दिएर भोट हाल्न लगाएपछि त्यहाँ विवाद उत्पन्न भएको थियो। प्रतिनिधिसभाको मतपेटिकामा मतदाताले थाहै नपाइ प्रदेशसभाको मत खसालेका थिए। सोही कारणले विवाद उत्पन्न भएपछि मतदान रोकिएको र अहिले छलफलको माध्यमबाट पुनः मतदान सुचारु गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए।
त्यस्तै झापा क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित भएको थियो। प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको थियो। सर्वदलीय छलफल गरी त्यहाँ मतदान सुचारु गरिएको छ।
त्यस्तै झापा १ अन्तरगतको मेचीनगरको सरस्वती आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान रोकिएको थियो। त्यहाँ पनि सुचारु गरिएको निर्वाचन अधिकारी नेपालले जानकारी दिए। त्यसैगरी अर्जुनधारा नगरपालिका नव दुर्गा माविमा पनि मतदान रोकिएको थियो। त्यहाँ पनि छलफलको माध्यमबाट विवाद समाधान गरी सुचारु गरिएको उनले बताए।