मदिरा सेवन गरेर मतदान, मतपत्र च्यात्दा पक्राउ
झापा : झापामा मतपत्र च्यात्ने एकजना मतदाता पक्राउ परेका छन् । पक्राउ पर्ने बिर्तामोड नगरपालिका- ५ किरात चोक निवासी ४८ वर्षीय भुपेन्द्र खतिवडा रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
बिर्तामोडको देवी मावि केन्द्रमा मतदान गर्ने क्रममा खतिवडाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक मतपत्रमा मत हालेर प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र च्यातेका थिए ।
उनी मदिरा सेवन गरेर मतदान गर्न गएका थिए । मतपत्र च्यात्नेलाई १ लाखसम्म जरिवाना र २ वर्षसम्मको कैद हुन सक्ने कानुनी व्यवस्था छ ।