निर्वाचनमा बर्जित हिंसा

निर्वाचनमा बर्जित हिंसा

निर्वाचनको पहिलो सर्त नै शान्ति हो। भयरहित वातावरणमा मतदाताले मतदान गर्नु पाउनुपर्छ। निष्पक्ष र धाँधलीरहित निर्वाचनमात्रै वास्तविक निर्वाचन हो। कसैको डर, धाकधम्की, त्रास र आतंकबिना मतदाताले मत हाल्न पाउनुपर्छ। तबमात्रै त्यस्तो निर्वाचन निष्पक्ष हुन्छ। नेपालका हकमा भने सबैजसो निर्वाचनमा कतै न कतै शान्तिविरोधी गतिविधि हुँदै आएका छन्। पञ्चायतकालमा राज्य नै हिंसामा उत्रन्थ्यो। २०४८ सालतिर पनि त्यस्तै र त्यसपछि पनि त्यस्तै त्यस्तै घटनाहरू दोहोर्‍याएर सत्तामा पुग्नेहरूले लोकतन्त्रविरोधी काम गरे। जनताको मन जितेपछि मत त्यसै पनि पाइहालिन्छ भन्ने आत्मबल नभएपछि जोकोही हिंसात्मक गतिविधिमा उत्रन्छ। धाकधम्कीमा उत्रन्छ। जस्तो कि हिंसात्मक गतिविधि हुने भनेर कुख्याती नै कमाएका कतिपय निर्वाचन क्षेत्र पनि छन्।

दोलखाको गौरीशंकर गाउँपालिकामा प्रत्येकजसो निर्वाचनमा हिंसा हुँदै आउनु एउटा उदाहरण हो। जहाँ जुन पार्टी बलियो छ, उसैले हिंसा मच्चाउने गरेका छन्। बुथ कब्जा गर्नेलगायत हर्कत र त्यसको प्रतिरोधले हिंसा निम्त्याउने गरेको छ। परिवर्तनका लागि सबैभन्दा शान्तिपूर्ण माध्यम भनेकै निर्वाचन हो। व्यवस्था वा राजनीतिक प्रणाली नै पनि कतिपय अवस्थामा निर्वाचनका माध्यमबाट परिवर्तन गर्न सम्भव हुन्छन्। त्यो भनेको जनमतसंग्रहको माध्यम हो। जनमतसंग्रहका माध्यमबाट देश एकीकरण गर्ने वा टुक्र्याउनेसम्मका निर्णय भएका विश्व उदाहरण छन्। देशको सबैभन्दा संकटपूर्ण मुद्दा नै जनमत संग्रहका माध्यमबाट टुंगो लगाइन्छ। हो, निर्वाचन त्यस्तो शक्ति हो, जसले कुनै संघर्ष र रक्तपातबिनै ठूलाठूला परिवर्तन गर्न सक्छ। कुनै शासकले मन लागेको निर्णय नगरी जनताको विचारका आधारमा निर्णय लिने निर्वाचन प्रणालीभन्दा अरू कुनै उत्तम तरिका हुँदैन।

निर्वाचनको सिद्धान्त र मर्मविपरीत गतिविधि हुने गरेका छन्। नेपालमा त्यस्तो कुनै निर्वाचन नहोला, जुन पूर्णतः शान्तिपूर्ण रूपमा भएको होस्। छिटफुटै भए पनि कतै न कतै हिंसा भएका छन्। झैझगडा र विवादले उग्र रूप लिएर कतिपयले चुनावी दौरान मानिसको ज्यानै पनि गएका उदाहरण छन्। गएको स्थानीय तह निर्वाचनमा थुप्रै ठाउँमा हिंसा भए र पाँच जनाले ज्यान गुमाए। २०७४ को स्थानीय निर्वाचनमा पनि त्यति नै जनाले ज्यान गुमाएका थिए। २०५४ सालको निर्वाचनमा पाँच र २०४९ सालको स्थानीय निकाय निर्वाचनमा चार जनाले ज्यान गुमाएका थिए। मंसिर ४ गते भएको यसपालिको आमनिर्वाचनमा विभिन्न ठाउँमा गरी प्रहरीले तीन दर्जन हवाई फायर गर्नुपर्‍यो। विवाद, झैझगडा र हिंसाकै कारण १५ स्थानमा त दोहोर्‍याएर मतदान गर्नुपर्ने भएको छ। बाजुरामा एकजनाले ज्यानै गुमाए। सर्लाहीमा अर्का एकजनाको मृत्यु भयो।

हिंसारहित निर्वाचनकै लागि सरकारले सुरक्षाकर्मी निर्वाचनकै खातिर भएर खटाउँछ, त्यै पनि हिंसाको क्रम निर्वाचनहरूमा रोकिएको छैन। यसपालिको निर्वाचनमा पनि सेना, प्रहरी र सशस्त्र प्रहरीले नपुगेर सरकारले म्यादी प्रहरी पनि भर्ती गर्‍यो। कतिपय निर्वाचनमा त म्यादी प्रहरी र प्रहरी नै पनि हिंसाको सिकार भएका छन्। यो हाम्रो लोकतन्त्रको ठूलो कमजोरी हो। जब निर्वाचन हिंसामुक्त र शान्तिपूर्ण हुन सक्दैन, तबसम्म निर्वाचन बाहुबलीको पञ्जामा पर्छ, मतदाताले वास्तविक रूपमा मत जाहेर गर्न सक्दैन। त्यसरी छनोट भएका प्रतिनिधि जनताका वास्तविक प्रतिनिधि हुन सक्दैनन्। निर्वाचनमा हिंसा अन्त्य गर्न राज्यले सुरक्षाकर्मीको परिचालन बढाएरमात्रै हुने पक्कै होइन। सर्वप्रथम त चुनावका मुख्य खेलाडी अर्थात् राजनीति दल र उम्मेदवारहरू नै हिंसा नगर्न प्रतिबद्ध हुनुपर्छ। जनताको मन जितेर नै चुनाव जितिन्छ भनेर उनीहरू चुनावमा होमिनुपर्छ। योजना, दृष्टिकोण र इमानका आधारमा चुनाव जित्न प्रतिबद्ध हुने उम्मेदवारलाई चुनेर जनताले पनि हिंसाप्रेमीलाई सबक सिकाइदिनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.