झापामा ४० प्रतिशत मतगणना
झापा : मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार मंगलबार बेलुका ६ बजेसम्म जिल्लामा करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको छ।
झापाका पाँचै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी रहेको र हालसम्म ४० प्रतिशत मतगणना भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए।
झापामा ६ लाख ६३ हजार ३११ मतदाता रहेकोमा ४ लाख ४६ हजार २५५ मत खसेको छ। प्रतिशतको हिसाबले ६७।२७ मत खसेको हो।
झापा १ मा १ लाख २० हजार ३७५ मत रहेकोमा ८७ हजार ३९६, झापा २ मा १ लाख ३४ हजार ९१ मत रहेकोमा ८७ हजार ७२३, झापा ३ मा १ लाख ३१ हजार ४३२ मत रहेकोमा ८९ हजार ७३७, झापा ४ मा १ लाख २३ हजार १२४ मत रहेकोमा ७९ हजार ३४९ र झापा ५ मा १ लाख ५४ हजार २८९ मत रहेकोमा १ लाख २ हजार १५० मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।
पाँचै क्षेत्रमा अहिलेसम्म ५ प्रतिशत मत बदर भएको हुन सक्ने बताउँदै सहायक निर्वाचन अधिकृत बस्नेतले भने, ‘मतपेटिका संकलनमा ढिलाइसँगै आयोगको फरक–फरक निर्देशनका कारण मतगणना ढिला भएको हो।’
झापा २ मा मतपेटिका सङ्कलन गरी सोही राति मतगणना सुरु भएको थियो। अन्य चार क्षेत्रमा सोमबार दिउँसोदेखि मतगणना सुरु भएको थियो।
‘सुरुमा आयोगले चार वटै मतपत्रको एकै पटक गणना गर्न निर्देशन दियो,’ उनले भने, ‘पछि सर्वदलीय बैठकको निर्णय अनुसार गणना गर्न भनी निर्देशन आयो, त्यसले केही जटिलता उत्पन्न गरेकै हो।’
अहिले पाँचै क्षेत्रमा जनशक्ति खटाएर मतगणना छिटोछरितो बनाइएको छ। यही रफ्तारले गणना गरिएमा बुधवार बेलुका वा बिहीबार बिहानसम्म प्रत्यक्षतर्फको सबै परिणाम आइसक्ने उनले बताए।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले तीन क्षेत्रमा, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा अगाडि छ।