झापामा प्रदेश सभाका १० सिट: एमाले ६, कांग्रेस र राप्रपा २/२ सिटमा अगाडि
झापा: झापामा प्रतिनिधि सभा सदस्यतर्फ तीन क्षेत्रमा अग्रता लिएका नेकपा एमालेले प्रदेश सभा सदस्यतर्फ ६ स्थानमा अग्रता लिएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाको पछिल्लो मत परिणाम अनुसार प्रदेशसभा सदस्यतर्फ एमाले ६ स्थान, कांग्रेस र राप्रपा २/२ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले चार क्षेत्रमा उम्मेदवारी दिए पनि अग्रता नलिएको पाइएको छ।
झापा क्षेत्र नम्बर १ (१) मा गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका गोपाल तामाङ र १ (२) राप्रपाकी सविना बजगाइँले अग्रता लिएका छन् । तामाङले ८ हजार ९३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका रवीन कोइरालाले ७ हजार ७३४ मत ल्याएका छन् ।
बजगाइँले ५ हजार ९६६ मत ल्याउँदा उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामवीर लिम्बूले ५ हजार ६१५ मत ल्याएका छन् । झापा २ (१) र (२) मा एमालेका एकराज कार्की र तिलचन पाठकले अग्रता लिएका छन् ।
कार्कीले ८ हजार २३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका पुष्पराज पोखरेलले २ हजार ७४७ मत ल्याएका छन् । पाठकले ७ हजार २३९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र मैनालीले ५ हजार ४७३ मत ल्याएका छन् ।
त्यस्तै झापा ३ (१) कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका वसन्त बानियाँबीच कडा प्रतिस्पर्धा भइरहेको छ । राजवंशीले १० हजार ४५५ मत ल्याउँदा बानियाँले १० हजार ३५३ मत ल्याएका छन् । उनीहरूबीच १०२ मतान्तर छ । ३ (२) मा एमालेका छविलाल चुडाँलको अग्रता कायम छ । चुडाँलले ५ हजार ६८७ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पूर्णसिंह राजवंशीले ४ हजार ४७५ मत ल्याएका छन् ।
झापा ४ (१) एमालेका राधाकृष्ण खनालले सुरुवाती अग्रता लिएका छन् । खनालले ८४५ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादीका झलकबहादुर मगरले ६६० मत ल्याएर पछ्याइरहेका छन् ।
४ (२) मा राप्रपाका भक्तिप्रसाद सिटौलाले अग्रता लिएका छन् । सिटौलाले २ हजार २४४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका एकराज उप्रेतीले १ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यसैगरी झापा ५ मा एमालेका दुवै उम्मेदवारले प्रदेशसभा सदस्यमा अग्रता लिएको छ । ५ (१) एमालेका हिक्मतकुमार कार्कीले १ हजार ९३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका जीवनकुमार राईले १ हजार ४८० मत ल्याएका छन् ।
५ (२) मा एमालेका होमबहादुर थापाले १ हजार २३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादीका रेवतीराज पुरीले ७४८ मत ल्याएर पछ्याइरहेका छन् ।