२७२ मतपत्र गायब भएपछि निर्वाचित भनिएका गुप्ताले पाएनन् प्रमाणपत्र
वीरगन्ज : पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भइसके पनि निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको छैन।
मतगणना सम्पन्न भइ अन्तिम नतिजा आएको ४८ घण्टा बित्न लाग्दासमेत पर्सा ३ को निर्वाचन अधिकृतको कार्यालयले गुप्तालाई निर्वाचित भएको प्रमाणपत्र नदिएको हो।
कांग्रेसका सुरेन्द्र चौधरी १५१ मतको झिनो मतान्तरले पराजित भएपछि मतगणनामा गडबड गरेको भन्दै रीकाउन्टिङको माग गर्दै निवेदन दिएका छन्।
निर्वाचन आयोगको वेवसाइट पनि पनि गुप्ता निर्वाचित भइसकेको उल्लेख छ। तर निर्वाचन अधिकृतको कार्यालयले पर्सा ३ मा गुप्ता निर्वाचित भएको भनेर आधिकारिक घोषणा गर्न सकेको छैन।
पर्सा ३ मा प्रतिनिधिसभातर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो। मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्रमात्रै गनिएको थियो। मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसार पर्सा ३ को प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ ६४ हजार ४ सय ४८ मत खसेको तर मतगणनाका क्रममा मतपेटिकाहरूबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको पर्सा ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले बताए।
उनका अनुसार प्रत्यक्षतर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मतभन्दा २७२ मत कम भएको देखिन्छ। गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ।
कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकाल स्वीकार्छन्।
उनले मतदानका क्रममा केही मतदाताले प्रत्यक्षतर्फको मतपत्र भुलवस समानुपातिकतर्फको मतपेटिकामा पनि खसाएको हुनसक्ने भएकाले प्रतिनिधीसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको आधिकारिक घोषणा नगरिएको र प्रमाणपत्र पनि वितरण नगरिएको बताए।
शुक्रबार अन्नपूर्णसँग ढकालले भने, ‘अहिले समानुपातिकतर्फको मतगणना भइरहेको छ। शनिबार दिउँसोसम्म सकिन्छ होला। समानुपातिकको गणना सकेर प्रत्यक्षतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आधिकारिकरूपमा घोषणा गर्नुका साथै प्रमाणपत्र पनि वितरण गर्छौं।'
उनले समानुपातिकको मतपेटिकाबाट प्रत्यक्षतर्फका पनि मतपत्र छिट्फुट भेटिएको बताए। 'यसरी भेटिएका मतपत्र प्रत्यक्षतर्फमा जोडिन्छ अनिमात्रै आधिकारिक घोषणा हुन्छ,' उनले भने।
यता पराजित भनिएका कांग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाए। उनले भने, ‘१५१ मतले म हारेको भनिएको छ। तर गणनामा २७२ मत नै कम छ। त्यो २७२ मत कहाँ गायब भयो? अर्को कुरा गणनामा पढे नलेखेका निरक्षर गणकहरुलाई पनि खटाइएको थियो। गणनामै षड्यन्त्र गरिएको छ,' उनले भने।
नेपाली कांग्रेसका स्थानीय नेता एंव पोखरीया नगरपालिकाका पुर्व मेयर दिपनारायण रौनीयारले पनि प्रत्यक्ष तर्फको मतपत्र केही मतदाताले समानुपातिक तर्फको मतपेटिकामा खसाएको बताए। उनले गणनाका क्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको ७४ वटा मतपत्र भेटिएको बताए।
म निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतले नै गरेका हुन् : गुप्ता
निर्वाचित भएका गुप्ताले भने बुधबार राति मतगणना सकिएलगत्तै निर्वाचन अधिकृत ढकालले नै माइकबाट आफू निर्वाचित भएको घोषणा गरेको दाबी गरे। यसका साथै सबै उम्मेदवारले पाएको मतसहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाट्स एपमा पठाएको र त्यो प्रमाण आफूसँग सुरक्षित रहेको गुप्ताले बताए।
गुप्ताले भने, ‘जनताको बहुतमले जितिसक्दा पनि पनि सत्ताको दुरुपोग गरेर मलाई हराउने षड्यन्त्र सबैतिरबाट भइरहेको छ। उनले यसबारे आफूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई जानकारी गराएको बताए। उनले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा भेटिए पनि त्यो मत सदर नहुने भएकाले भ्रममा नपर्न सबैसँग आह्वान गरे।